स्थायी प्रकृतिको आधारभूत अस्पताल निर्माणका लागि दशैं अगावै बोलपत्र आवह्वान गर्ने तयारीमा फक्ताङलुङ

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २९ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले पालिकाको केन्द्र तापेथोकमा स्थायी प्रकृतिको आधारभूत अस्पताल निर्माणका लागि दशैं अगावै बोलपत्र खोल्ने तयारी गरेको छ ।

पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले अहिले अस्थायी रुपमा तापेथोक आधारभूत अस्पताल सञ्चालनमा रहेपनि सम्वन्धित निकायबाट औपचारिक रुपमा स्वीकृति हुन बाँकी रहेको जानकारी दिनुभयो । अस्थायी भवन,सिमित जनशक्ति र पूर्वाधारकाबिच पालिकाले आफ्नै स्रोत साधनबाट अस्थायी आधारभूत अस्पताल सञ्चालनमा रहेको बताउँदै पालिका अध्यक्ष लिम्बूले अब चाँडै स्थायी प्रकृतिको आधारभूत अस्पताल निर्माणको कार्य अघि बढाउने तयारी भइरहेको जानकारी दिनुभयो । पालिका अध्यक्ष लिम्बूका अनुसार स्थायी प्रकृतिको,व्यवस्थित,गुणस्तरीय र दीर्घकालिन रुपले सेवा प्रदान गर्नेगरि आधारभूत अस्पताल निर्माण कार्यका लागि दशैं अगावै बोलपत्र आवह्वान गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार तापेथोकको खाम्दाङमा स्थायी प्रकृतिको सुविधा सम्पन्न आधारभूत अस्पताल बनाउने कार्यका लागि जग्गाको खोजी भइरहेको जानकारी दिनुभयो ।

अस्पताल निर्माणका लागि ५ रोपनी जग्गा पालिकाको नाममा प्राप्त भइसकेको बताउँदै पालिका अध्यक्ष लिम्बूले उक्त जग्गा एकैस्थानमा नजोडिएको र भवन निर्माणका लागि पर्याप्त र उपयुक्त क्षेत्र कम भएकोले थप २ रोपनी जग्गाको खोजी कार्य सुरु भएको समेत बताउनुभयो । जग्गाको सुनिश्चितता अन्तिम चरणमा पुगेकोले जग्गाको नापजाँच तथा प्राविधिक प्रकृया अघि बढाईसकिएको समेत पालिका लिम्बूले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष लिम्बूले साझा सहकार्यबाट सुविधा सम्पन्न अस्पताल निर्माणको कार्य अघि बढाउने योजना रहेको बताउँदै यस कार्यमा सहयोग र सहजीकरणका लागि पालिकाका बासिन्दालाई आवह्वान समेत गर्नु भएको छ । पालिकाले समुदायको साझेदारीमै आधारभूत अस्पताल निर्माणको कार्य अघि बढाउने योजना बनाएको छ ।

स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकारको रुपमा रहेको स्मरण गर्दै पालिका अध्यक्ष लिम्बूले भौगोलिक विकटताका कारण कोहि पनि स्वास्थ्य सेवाबाट बञ्चित हुनु नपरोस् र सामान्य स्वास्थ्य सेवाका लागि टाढा धाउनुपर्ने बाध्यता अन्त्यहोस् भन्ने बिषयमा स्थानीय सरकार दृढ र सम्बेदनशिल रहेको समेत बताउनु भएको छ । अहिले पालिकाको केन्द्र तापेथोकमा रहेको अस्थायी आधारभूत अस्पतालले एबिबिएस तहका डाक्टरको नेतृत्वमा स्वास्थ्य सेवा प्रदान हुँदै आएको छ । केहिदिन अघिबाट मात्र आधारभूत अस्पतालबाट एक्स–रे सेवा समेत सुरु भएको छ । अस्थायी प्रकृतिको आधारभूत अस्पताललाई प्रादेशिक तथा संघीय सरकारले जनशक्ति तथा उपकरणमा सहयोग नगर्ने भएकोले पालिका आफैंले त्यसको व्यवस्थापन गर्दै आइरहेको छ । स्थायी प्रकृतिको आधारभूत अस्पताल निर्माण गरी पालिकाबाटै न्यूनतम् आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने योजना अनुरुप पालिकाले आधारभूत अस्पतालका लागि सुविधा सम्पन्न भवन निर्माणको प्रकृया अघि बढाएको पालिका अध्यक्ष लिम्बूले जानकारी दिनु भएको छ ।

 

Similar Posts