चैत २९ सम्म पाथीभरामा ३३ हजार बढी दर्शनार्थी

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २९ । ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा चैत महिनाको २९ गते सम्ममा ३३ हजार २ सय ७३ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् ।
पाथीभरा क्षेत्र विकास समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीका अनुसार चैत महिनामा चैते दशैंका दिन चैत २३ गते शनिवार सबैभन्दा बढी ७ हजार १ सय ४६ जनाले मन्दिरको दर्शन गरेका थिए । यो संख्या सिजनकै सबैभन्दा बढी थियो । मन्दिरको दर्शनका लागि आउने तीर्थालुका लागि पाथीभरा क्षेत्र विकास समितिले सदरमुकाम फुङलिङस्थित तोक्मेडाँडा,सुकेटार र बसपार्क क्षेत्रमा यात्रु सहायता कक्ष राखेर सहजीकरण गरिरहेको छ ।
तोक्मे क्षेत्रमा रहेको यात्रु सहायता कक्षबाट भने क्षेत्र विकास समितिकै कर्मचारीमार्फत सहजीकरणको काम भइरहेको क्षेत्र विकास समितिले जनाएको छ । काफ्लेपाटी क्षेत्रमा नेपाल प्रहरीको पर्यटक प्रहरी सहयाता केन्द्रमार्फत पनि यात्रुलाई सहजीकरण तथा उद्धारका काम भए सो समेत गर्ने कार्य भईरहेका छन् ।