अभिभावकले बालबालिकाका आवाज सुन्नुपर्नेमा जोड दिँदै ताप्लेजुङमा मनाईयो विश्व वाल दिवस
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ४ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको आयोजना तथा फुङलिङस्थित लिटलबुद्ध ईङलिस बोर्डिङ स्कुलको सहभागितामा बिहीबार फुङलिङमा विश्व वाल दिवस मनाईएको छ ।
मौन र्याली तथा शुभकामना आदान–प्रदान गरेर विश्व वाल दिवस मनाईएको आयोजक जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिनुभयो । तोक्मेडाँडामा भेला भएर नगर परिक्रमा गर्दै वीरेन्द्रचौमा पुगेर कोणसभा गरिएको थियो । कोणसभालाई निरीक्षक यादवले सम्बोधन गर्दै बालबालिकाका आवाज सुन्ने तथा उनीहरुका अधिकार प्रवद्र्धनमा सामाजिक संघसंस्था तथा बिद्यालयहरुको सहभागिता अभिबृद्धि गर्ने उद्देश्यसहित बिद्यालयकै सहभागितामा कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले बालबालिकाका आवाजलाई बलपूर्वक दबाउने नभई सुन्ने र सोहि अनुसार कर्तव्यनिष्ठ बन्ने सवालमा अभिभावकहरु सचेत हुनुपर्नेमा जोड दिदैं बाल अधिकार संरक्षण गर्न सरोकारवाला सबै गम्भिर र सचेत हुनुपर्ने बताउनुभयो ।
लिटलबुद्ध ईङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल युवराज गिरीले बालबालिकाका जन्मसिद्ध अधिकारको रक्षा,शिक्षामा पहुँच र समानता सहितका हक सुनिश्चित गर्न सरकार,अभिभावक र समाजको महत्वपूर्ण योगदान रहने बताउनुभयो । उहाँले अधिकार र कर्तव्य संगै जोडिएर आउने भएकोले अधिकार माग्दा कर्तव्यबाट बिमुख नहुन बालबालिकालाई आग्रह गर्नुभयो ।
। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(डिएसपी)बेदप्रसाद गौतमले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत वाल अधिकारको संरक्षण र प्रवद्र्धनका लागि आफुहरुले विश्व वाल दिवस कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९८९ को २० नोभेम्बरका दिन बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।