भदौ २३ गते नै प्रधामन्त्रीले राजीनामा दिएर संसदबाटै सरकार बनाउने प्रकृया मार्गप्रसस्त गर्दा संसद बच्न सक्थ्यो: भट्टराई

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ ७ । नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले भदौ २३ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर संसदबाटै सरकार निर्माणको पहल गरेको भए संसद जीवित हुनसक्ने अवस्था औंल्याउनु भएको छ । उहाँले भदौ २४ गतेको घटनालाई संगठनात्मक र सुनुयोजित बिध्वंस भन्नु भएको छ ।

भट्टराईले छानबिन समितिले भदौ २३ र २४ गतेको घटनालाई अलग अलग रुपले हेर्नुपर्ने बताउनुभयो । ताप्लेजुङबाट प्रतिनिधिसभामा एमाले उम्मेदवार क्षितिज थेबेको उम्मेदवारी दर्ता कार्यक्रममा सहभागी हुन फुङलिङ आउनु भएका उहाँले बुधवार बिहान ताप्लेजुङका सञ्चारकर्मीसंग कुरा गर्दै भदौ २३ गते सरकारको असावधानी,फितलो सुरक्षा व्यवस्था र सहि दृष्टीकोणले सुरक्षाफौजको परिचालन हुन नसक्दा नवयुवाहरुको मृत्यु हुन पुगेको बताउनुभयो । तत्कालिन सरकारले आन्दोदनरत पक्षसंग बार्ताका लागि देखाएको उदासिनताले समेत घटना उत्तेजित हुन पुगेको उहाँको ठम्याई छ । ताप्लेजुङबाट आफुपनि प्रतिनिधिसभाको उम्मेदवार बन्न इच्छुक रहेपनि पार्टीले युवा नेता थेबेलाई चयन गरेकोले चयन भएका उम्मेदवार अब एमालेको साझा उम्मेदवारको रुपमा हुने भट्टराईले बताउनुभयो ।

आफुले अनेरास्ववियुको अध्यक्ष देखि एमालेको उपमहासचिव सम्मको जिम्मेवारीमा पुग्दा तीनवटा असहमति राखेको र आफु त्यसको उत्तर नियमित खोज्ने पक्षमा रहेको भट्टराईको भनाई थियो । भट्टराईले महाकाली सन्धी हुन नहुने पक्षमा राखेको अभिमत,२०७७ साल पुस ५ गते भएको संसद बिगठन र यसपटक पार्टी नेतृत्वबाट भएको एमाले उम्मेदवार छनौट प्रकृयामा आफुले असहमति राखेको बताउनुभयो । उल्लेखित तीनवटै असहमति पार्टी जीवनको अमूल्य सम्पत्तिको रुपमा रहने र आफुले यसका बारे नियमित खोजी गरिरहने उहाँले बताउनुभयो । उम्मेदवार छनौटको बिषयमा राखिएका असहमति आफुले लिखित रुपले दर्ज गरेको बताउँदै भट्टराईले त्यसको समिक्षाका लागि अहिले समय अनुपयुक्त रहेको बताउनुभयो ।

मुलुक निर्वाचनमा होमिएको अवस्थामा पार्टीबाट छनौट भएका उम्मेदवारलाई जिताएर आफुले राखेका असहमतिका उत्तर खोज्न केन्द्रित हुने भट्टराईले बताउनुभयो । राष्ट्रपति रामचन्द्र पौडेल र तत्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको उचित सावधानीले भदौ २३ र २४ को घटनासंगै संबिधानको कम क्षतिबाट मुलुकको स्वाधिनता र सार्वभौमिकता जोगिएको उहाँले दावी गर्नुभयो । तत्कालिन प्रधानमन्त्री ओलीले भदौ २३ गते नै राजीनामा दिएर संसदमार्फत नै सरकार बनाउने प्रकृया आरम्भ गर्न सिफारिस गरेको भए संसद समेत बिगठनको अवस्थासम्म नजाने थियो की भन्ने आफुलाई लागिरहेको भट्टराईको भनाई थियो । भट्टराई अहिलेको सरकारलाई संबिधानले नचिन्ने समेत दावी गर्नुभयो ।

Similar Posts