| |

बालबालिकाको सिकाइ प्रभावकारी बनाउन टिभी वितरण

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन १५ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुंगेसाँघुमा बाल विकास केन्द्रको सिकाइलाई प्रभावकारी बनाउन टिभी (टेलिभिजन) वितरण गरिएको छ । बालबालिकाको सिकाइलाई प्रभावकारी बनाउन र उनीहरुलाई पढाइमा केन्द्रित गर्ने उद्देश्य राखेर वडा कार्यालयले मंगलबार टिभी वितरण गरेको हो ।
वडाध्यक्ष चन्द्रकुमार तामाङका अनुसार बाल विकास केन्द्रमा अध्ययरत बालबालिकालाई लक्षित गरी टिभी वितरण गरिएको हो । वडा कार्यालयको योजनाअन्तर्गत बाल विकास केन्द्र सञ्चालित वडाभित्रका छ वटा विद्यालयलाई ३२ इन्च साइज (आकार) भएको एक–एक वटा टिभी वितरण गरिएको वडाध्यक्ष तामाङले जानकारी दिनुभयो ।
उहाँकाअनुसार बाल विकास केन्द्र कक्षा सञ्चालनमा रहेको जनकल्याण माध्यमिक विद्यालय, सरस्वती आधारभूत विद्यालय र पाटी आधारभूत विद्यालयलाई टिभी वितरण गरिएको छ । यस्तै मदनभण्डारी आधारभूत विद्यालय, सिंह आधारभूत विद्यालय र साक्फारा आधारभूत विद्यालयलाई टिभी वितरण गरिएको हो । सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई टिभी हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।
टिभीसँगै बालबालिकाको कक्षामा प्रस्तुति वा प्रदर्शन हुने सिकाइसम्बन्धी श्रव्यदृश्य सामग्री राखिएको पेन्ड्राइभसमेत उपलब्ध गराएको वडा कार्यालयले जनाएको छ । यता विद्यालयलाई वितरण गरिएको टिभीले बालबालिकाको सिकाइ अर्थात पढाइलाई प्रभावकारिता बनाउने र बालबालिकालाई विद्यालय जान प्रेरित गर्नमा सहयोग पुग्ने विश्वास लिएको वडाध्यक्ष तामाङको भनाइ छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts