उद्योग वाणिज्य संघमा सर्वसम्मत नेतृत्व,अध्यक्षमा गौतम

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १५ । ताप्लेजुङ उद्योग वाणिज्य संघमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । विकास गौतम अध्यक्ष रहेको कार्य समिति चयन भएको हो ।
यसअघि कोषाध्यक्ष रहेका गौतम र बरिष्ठ उपाध्यक्ष रहेका दावा शेर्पाबिच चुनावी प्रतिश्प्रर्धा हुने भनिएपनि शेर्पाले आफ्नो दावेदारी फिर्ता लिएपछि गौतम निर्विरोध हुनु भएको हो । बरिष्ठ उपाध्यक्षमा शेर्पानै दोहोरिने सहमति बनेको छ । निर्वाचित सदस्यमध्येबाट कार्य समितिको पहिलो बैठकले बरिष्ठ उपाध्यक्ष मनोनित गर्ने प्रावधान अनुरुप शेर्पालाई यसपटक पनि बरिष्ठ उपाध्यक्ष नै बनाउने भद्र सहमति बनेको छ । संघको प्रथम उपाध्यक्षमा शान्ति मादेन,द्धितीय उपाध्यक्षमा सोजित श्रेष्ठ,तृतीय उपाध्यक्षमा रुपक घिमिरे,महासचिवमा कमल लिम्बू,सचिवमा खेम केसी र कोषाध्यक्षमा युवराज महतारा चयन हुनु भएको छ ।
सदस्यहरुमा पुण्यप्रसाद आचार्य,तेजबहादुर भट्टराई,गायत्री भण्डारी,लोचन भण्डारी,युवराज बराल,हरिप्रसाद ओझा,तेजकुमार सुनुवार(जंग)दिनेश भट्टराई,सन्तोष भट्टराई,विकास हाङगाम,गणेश विक र लिलाराज पौडेल चयन हुनुभयो । कार्य समितिले मनोनित गर्ने ७ सदस्यीयको समेत सहमतिका क्रममा टुङ्गो लागेको छ । मनोनित हुनेगरी सहमति बनेकाहरुमा भद्रवीर रेग्मी,रेवतबहादुर श्रेष्ठ,भोला बराल,नन्दकुमार बानियाँ,हेमनाथ केसी,गीता भट्टराई र हरिचन्द्र पौडेल रहनु भएको छ । दलिय सहमतिमा बिभाजित भएका वाणिज्य संघका उम्मेदवारहरुले सुरुमा घोषित र अघोषित गठनबन्धन समेतको घोषणा गरेका थिए ।
काँग्रेस र एमालेबिच लिखित तथा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबिच अघोषित गठबन्धन थियो । गौतम काँग्रेस र एमालेका साझा उम्मेदवारको रुपमा घोषित हुनुहुन्थ्यो भने शेर्पा माओवादी केन्द्र र राश्वपाका साझा उम्मेदवार हुनुहुन्थ्यो । ताप्लेजुङ उद्योग वाणिज्य संघको यो अधिबेशनका लागि करिव साढे ६ सय मतदाता रहेका थिए । ताप्लेजुङ उद्योग वाणिज्य संघको बिधान अनुसार अध्यक्ष पछिको दोस्रो बरियतामा अब निवर्तमान उपाध्यक्ष नारायण थापा रहनु हुने छ भने त्यसपछि बरिष्ठ उपाध्यक्ष हुँदै अन्य पदाधिकारीको मर्यादाक्रम हुने छ ।