ताप्लेजुङका स्थानीय तहद्धारा स्थानीय सञ्चार नीति बनाउने प्रतिबद्धता,आसा जगाउने अभियानमा सघाउन आग्रह

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १४ । ताप्लेजुङका स्थानीय तहले आगामी आर्थिक बर्षदेखि कार्यान्वयन हुनेगरी स्थानीय सञ्चार नीति बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरुले सञ्चार क्षेत्रको सवलीकरण रसंस्थागत उन्नतीका लागि पालिकाकोतर्फबाट गर्ने सहयोगमा कञ्जुस्याँई नगर्ने समेत प्रतिबद्धता जनाएका छन् ।
नेपाल पत्रकार महासंघको कोशी प्रदेश समितिले कोशी सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसंग मिलेर सदरमुकाम फुङलिङमा आयोजना गरेको अन्तर सम्बाद कार्यक्रममार्फत यहाँका स्थानीय तहले उक्त प्रतिबद्धता जनाएका छन् ।‘यो प्रतिबद्धताले हामीलाई पत्रकारिताको सवलीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास जगाएको छ’पत्रकार महासंघको कोशी प्रदेश समिति अध्यक्ष भरतबहादुर खड्काले भन्नुभयो । उहाँका अनुसार पत्रकार महासंघको कोशी प्रदेश समितिले प्रदेशका १४ वटै जिल्लाका पत्रकार महासंघको समन्वयमा पत्रकारिता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका बिषय अन्तरसम्बाद कार्यक्रम सञ्चालन गर्ने छ ।
कार्यक्रममा फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनले आफुहरु स्थानीय सञ्चार संस्था र सञ्चारकर्मीलाई संस्थागत रुपले सहयोग गर्नेगरी नीति बनाउने र कार्यान्वयन दिशामा अग्रसर हुने बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रले सुधार गर्नुपर्ने बिषय औंल्याउँदै विकास र समृद्धिका लागि चालिएका अभियानको उजागर गरेर सकारात्क आसाको सञ्चार गराउनुपर्नेमा जोड दिनुभयो । पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले सुशासन र पारदर्शीता कायम गर्न कुनै सम्झौता नहुने बताउँदै आगामी आवको नीति तथा कार्यक्रममार्फत सञ्चारमैत्री नीति बनाई कार्यान्वयनमा लैजाने विश्वास दिलाउनुभयो । मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले स्थानीय तहले सञ्चार क्षेत्रको सवलीकरण र प्रवलीकरणका लागि ध्यान दिएको बताउँदै अब नीतिगत व्यवस्थामार्फत सवलीकरणलाई संस्थागत गर्ने प्रतिबद्धता जनाउनुभयो ।
फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाले आम सञ्चार क्षेत्रको सवलीकरणमा नगरपालिकाले पत्रकार महासंघको जिल्ला शाखासंग सहकार्य गर्ने र उचित प्रस्तावका आधारमा सवलीकरणका लागि योगदान दिने बताउनुभयो । फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा(विकास)ले पत्रकारिता क्षेत्रको विकास र सवलीकरणका लागि पालिकाकोतर्फबाट सक्दो सहयोग गर्ने विश्वास दिलाउँदै सञ्चारमैत्री नीतिका लागि पत्रकार महासंघको कोशी प्रदेश समितिले लिएको पहलमा साथ दिने बताउनुभयो । मैवाखोला गाउँपालिका उपाध्यक्ष कमलकुमारी लिम्बूले पत्रकारिता क्षेत्र समाजका गतिविधि देखाउने माध्यम भएकोले यो क्षेत्रको विकास र उन्नयनका लागि स्थानीय सञ्चार नीति बनाउने बिषयमा तत्कालबाट पहल थालिने बताउनुभयो ।
कार्यक्रमको स्थानीय संयोजक पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्यले ताप्लेजुङको पत्रकारिता क्षेत्रको बिद्यमान अवस्था,सम्भावना,समस्या र चुनौति सहित चुनौति व्यवस्थापनमा स्थानीय तहकातर्फबाट हुनसक्ने सहयोगका सवाल समेत उठाउँदै कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । पत्रकार महासंघ कोशी प्रदेश समितिका महासचिव हिमा चेम्जोङका अनुसार महासंघको कोशी प्रदेश समितिले स्थानीय सञ्चार संस्था र सञ्चारकर्मीको सवलीकरणका लागि स्थानीय तहलाई उत्साहित बनाउँदै स्थानीय विज्ञापनमा स्थानीय सञ्चार संस्थाको पहुँच अभिबृद्धिका लागि योगदान दिनेगरी अन्तर सम्बाद्ध कार्यक्रम गरिएको हो ।
महासंघको कोशी प्रदेश समिति उपाध्यक्ष अम्बिका भण्डारीले स्थानीय सञ्चार संस्थाको सवलीकरणका लागि नीति र नियमको आवश्यकता बोध गरेर उक्त नीति नियम बनाउन स्थानीय तहलाई उत्साहित गर्ने हिसावबाट कार्यक्रम सुरु गरिएको बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य माला पालुङ्वा,महासंघको कोशी प्रदेश समितिका उपाध्यक्ष कुमोद अधिकारी,सचिव धुव्र भट्टराई,पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष,पदाधिकारी,पत्रकारका पेशागत संगठनका अगुवा,स्थानीय सञ्चार संस्थाका प्रतिनिधि तथा स्थानीय सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।