| |

फुङ्लिङमा तीन दिने निःशुल्क आँखा शिविर सुरु

अरुलाई पनि शेयर गरौ !

-प्रयास लिम्बू
ताप्लेजुङ, फागुन १६ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा बुधबारदेखि आँखा शिविर सुरु भएको छ । वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर सन्दुक रुइतको उपस्थितिमा तीन दिने निःशुल्क आँखा शिविर सुरु भएको हो ।
नेपाल नेत्रज्योति संघ ताप्लेजुङको आयोजना तथा तिलगंगा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा शिविर सुरु भएको हो । नेत्रज्योति संघद्वारा सञ्चालित डिचेन डोङगला स्मारक आँखा उपचार केन्द्रमा आँखा शिविर सुरु भएको हो । शिविर आयोजकको भूमिकामा फुङ्लिङ नगरपालिका, सेवा फाउन्डेसन काठमाडौंसमेत रहेका छन् ।
शिविरमा मोतिविन्दु रोग भएको विरामीको निःशुल्क शल्यक्रिया गरिने नेपाल नेत्रज्योति संघ ताप्लेजुङ शाखाको उपसभापति खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार तीन दिने आँखा शिविरलाई लक्षित गरी नेत्रज्योति संघले गाउँगाउँमा गएर मोतिविन्दु भएका रोगीहरुको खोजी गरेको थियो ।
जिल्लाको मैवाखोला र मिक्वाखोला गाउँपालिकामा घुम्ती शिविर सञ्चालन गरी मोतिविन्दु पहिचान भएका विरामीको पहिचान गरिएको थियो । उक्त घुम्ती शिविरमार्फत मोतिविन्तु पहिचान भएका रोगीहरुले आँखा शिविरमा सहभागिता जनाएको र उहाँहरुलाई शल्यक्रियासहितको उपचार सेवा प्रदान गरिने नेत्रज्योति संघले जनाएको छ । संघका अनुसार मैवाखोला र मिक्वाखोला गाउँपालिकामा मात्र ३७ जना मोतिविन्दुका विरामी पहिचान गरिएको थियो ।
मोतिविन्दु पहिचान भएकासमेत जिल्लाभित्र तथा बाहिर पाँचथर र तेह्रथुमसमेतबाट विरामीहरु आएका छन् । पहिलो दिन बुधबार करिव एकहजारको सङ्ख्यामा सर्वसाधारण शिविरमा सेवा लिन आएका नेपाल नेत्रज्योति संघका जिल्ला सभापति राजकुमार गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार उपचार सेवा लिन आएको सेवाग्राहीको निकै भीड लागेको बताउनुभयो । उहाँले शिविरमा आँखा परीक्षणको क्रम धमाधम चलिरहेको र मोतिविन्दु पहिचान भएका विरामीको बिहीबारदेखि शल्यक्रिया सुरु हुने जानकारी दिनुभयो ।
शिविरमा मोतिविन्दु पहिचान भएका ४० वर्षमाथि उमेर समूहका विरामीलाई निःशुल्क शल्यक्रियासहित चस्मा र आवश्यक औषधि पनि निःशुल्क रुपमा उपलब्ध गराइने आयोजकले जनाएको छ । मोतिविन्दुबाहेक अन्य आँखाका विरामीलाई शिविरमा परीक्षण तथा उपचार सेवा प्रवाह गरिँदै आएको छ । यता वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर रुइतको संलग्नता रहेकाले सेवाग्राहीको उल्लेख्य चाप भएको पनि बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts