| |

सिदिङ्वा गाउँपालिकामा सत्र सय विद्यार्थीको आँखा परीक्षण

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २७ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका सत्र सय बढी विद्यार्थीको आँखा परीक्षण गरिएको छ । गाउँपालिकाका विद्यालय–विद्यालयमा पुगेर विद्यार्थीको आँखा परीक्षण तथा उपचार गरिएको हो ।
गाउँपालिका स्वास्थ्य शाखाका अनुसार कुल एक हजार ७२३ जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ । सिदिङ्वाका सबै वडामा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार शाहले जानकारी दिनुभयो । शाहका अनुसार आँखा परीक्षण गरिएकामा ९२२ जना छात्रा र ८०१ जना छात्र विद्यार्थी रहेका छन् ।
उहाँले आँखा परीक्षणका क्रममा दृष्टिदोष देखिएका ५२ जना विद्यार्थीलाई निःशुल्क चस्मा वितरण गरिएको जानकारी दिनुभयो । यस्तै सामान्य समस्या देखिएका ५८ जना विद्यार्थीको आँखाको औषधि उपचार गरिएको पनि उहाँले बताउनुभयो । विद्यार्थीसँगै सिदिङ्वा गाउँपालिकामा कार्यरत २१० जना शिक्षकको समेत आँखा परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।
सात वटा वडा रहेको गाउँपालिकामा ३२ वटा सामुदायिक विद्यालय रहेका छन् । सिदिङ्वा गाउँपालिकाको आयोजना तथा नेपाल नेत्रज्योति संघ, डिचेन डोङगला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन गरी विद्यार्थीको आँखा परीक्षण गरिएको हो । आँखामा समस्या भए समयमै निदान गर्ने उद्देश्यले विद्यार्थीको आँखा परीक्षण अभियान चलाइएको गाउँपालिका अध्यक्ष मानबहादुर राईको भनाइ छ ।
विद्यालय विद्यालयमा सञ्चालित शिविरमा डिचेन डोङगला स्मारक आँखा उपचार केन्द्रका क्षेत्र कार्यकर्ता काजी थेबे लगायतले शिविरमा आँखा परीक्षण गर्नु भएको थियो । मंगलबार सम्पन्न भएको आँखा परीक्षण शिविर गएको साताको सोमबार सुरु भएको थियो ।

Similar Posts