सांसद भट्टराईद्धारा मदन भण्डारी सडकका लागि रकम बिनियोजन गर्न भौतिक मन्त्रिलाई आग्रह

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन २६ । प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री योगेशकुमार भट्टराईले मदन भण्डारी सडक अन्तरगत वसन्तपुर–गुफा–ढुंगेसाँघु–दोभान सडक कालोपत्रे तथा स्तरोन्नतिका लागि बजेट व्यवस्थापन गर्न माग गर्नु भएको छ । उहाँले आवश्यक बजेट व्यवस्थापन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग आग्रह गर्नु भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई मागपत्र बुझाउँदै भट्टराईले यो सडक खण्ड ताप्लेजुङ,संखुवासभा र तेह्रथुम र धनकुटा तराई आवत–जावतका लागि सहज एवम् भरपर्दो भएकाले स्तरोन्नती आवश्यक रहेको भन्दै बजेट माग गर्नु भएको हो । मन्त्री दाहाललाई सडकको विषयमा जानकारी गराउँदै भट्टराईले मेची राजमार्ग र तमोर करिडोर सडक तथा यस क्षेत्रका पुलमा विभिन्न समयमा बाढीपहिरोले क्षति पु¥याएका कारण उक्त मार्ग प्रयोग गर्नुपर्ने अवस्था आइरहेको बिषयमा ध्यानाकर्षण गराउनु भएको थियो । यो मार्ग गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रमा पर्ने हुँदा पर्यटकीय दृष्टिलेसमेत महत्वपूर्ण रहेको भट्टराईको भनाइ छ ।

भट्टराईले यो मार्गमा सहज रूपमा यातायात सञ्चालनका लागि चालु आर्थिक वर्षमा ताप्लेजुङ जिल्ला सडक कार्यालयबाट काम हुनेगरी २५ करोड रुपैयाँ र संखुवासभा जिल्ला सडक कार्यलयबाट काम हुनेगरी २५ करोड रुपैयाँ बजेट व्यवस्थापनका लागि मन्त्री दाहालसमक्ष अनुरोध गर्नु भएको छ । आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि यस सडकलाई महत्वका साथ बजेट विनियोजन गर्न पनि भट्टराईले आग्रह गर्नु भएको छ । यो मार्ग कोशी प्रदेशको हिमाली जिल्ला ताप्लेजुङलाई तराईसँग जोड्ने विभिन्न सडकमध्ये छोटो र भरपर्दो मानिन्छ । उक्त भेटमा मन्त्री दाहालले मदन भण्डारी सडकमार्गको स्तरोन्नति गर्ने विषयमा आफुले प्राथमिकताका साथ काम गर्ने आश्वासन दिनु भएको भट्टराईका स्वकीय सचिव सन्तोष मादेनले जानकारी दिनुभयो ।

Similar Posts