ताप्लेजुङका ६ बिद्यालयका २ सय बढी बिद्यार्थीले पाए करिव १० लाख मूल्य बराबरको शैक्षिक सामग्री

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन २६ । ताप्लेजुङ विकास मञ्चले दौंतरी नेपालको आर्थिक सहयोगमा ताप्लेजुङका ६ वटा बिद्यालयका दुईसयजना बिद्यार्थीलाई १० लाख मूल्य बराबरको शैक्षिक सामग्री बितरण गरेको छ ।

दौंतरीको आर्थिक सहयोगमा मञ्चले ६ बर्षदेखि बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिरहेको छ । दौंतरीका अध्यक्ष सम्पन्न स्थापितको उपस्थितिमा कोशी प्रदेश सरकारका पूर्व मन्त्री बलबहादुर साम्सोहाङले सोमवार ताप्लेजुङ मञ्चमार्फत बितरण हुने शैक्षिक सामग्री सम्वन्धित बिद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिलाई हस्तान्तरण गर्नु भएको छ ।

मञ्चका अध्यक्ष सन्तोष प्रसाँईका अनुसार मेरिङदेन गाउँपालिकास्थित सूर्यदेवी मावि सान्थाक्राका ४०,फक्ताङलुङ गाउँपालिकास्थित तुलसी आधारभूत बिद्यालय खेजेनिमका ३० र पाथीभरा याङवरक गाउँपालिकास्थित सिद्धेश्वरी मावि डुम्रिसेका ३५ बिद्यार्थीका लागि शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । यस्तै सिरिजङ्गा गाउँपालिकास्थित भगवती आधारभूत बिद्यालय सिनामका २५,भगवती आधारभूत बिद्यालय आम्बेगुदिनका ४० र महेन्द्र आधारभूत बिद्यालय खेवाङका ३५ बिद्यार्थीका लागि शैक्षिक सामग्री हस्तान्तरण भएको प्रसाँईले जानकारी दिनुभयो ।

सम्वन्धित बिद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिलाई हस्तान्तरण गरिएको शैक्षिक सामग्री उहाँहरुमार्फत बिद्यार्थीसम्म पुग्ने ताप्लेजुङ विकास मञ्चका अध्यक्ष प्रसाँईले बताउनुभयो । उहाँका अनुसार बिद्यार्थी छनौटको जिम्मेवारी सम्वन्धित बिद्यालय व्यवस्थापन समिति र बिद्यालय प्रशासनलाई दिईएको थियो । ताप्लेजुङ विकास मञ्चले २०७६ साल देखि बिद्यार्थीलाई यस्तो शैक्षिक सामग्री प्रदान गर्दै आइरहेको जनाएको छ । पहिलोबर्ष १ सयजनालाई,दोस्रोबर्षबाट पाँचौं बर्ष सम्म १ सय ५० जनालाई र छैटौं बर्ष यसपटक २ सय जना बिद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको प्रसाँइले बताउनुभयो ।

शैक्षिक सामग्रीमा प्रति बिद्यार्थी एकथान झोला,एकजोर ट्रयाकसुट,एकजोर जुत्ता,कापी एक दर्जन,पेन्सिल एक दर्जन,ज्यामिति बक्स १ थान,कलम(फुलटिन) दुईसेट र त्यसमा लाग्ने मसी सहितका सामग्री हुनेछन् । दौंतरीका अध्यक्ष स्थापितका अनुसार शैक्षिक सामग्रीको अभावमा बिद्यालय जानबाट बञ्चित रहेका बिद्यार्थीलाई सहयोग पुग्नेगरी यस्तो शैक्षिक सामग्री बितरण अभियान सुरु गरिएको हो ।

दौंतरीले बार्षिक रुपमा ताप्लेजुङ सहित सल्यान,डोल्पा,बाजुरा,नवलपरासी र काठमाडौंका विपन्न तर मेधावी बिद्यार्थीहरुलाई यो प्रकृतिको शैक्षिक सामग्री बितरण गर्दै आइरहेको जनाएको छ । आगामी बर्षबाट सहयोग गरिने जिल्ला र सहयोग भइरहेका जिल्लाहरुका बिद्यालयहरुको संख्या बढाई बढीमा २ हजार ५ सय बिद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्ने योजना बनाईरहेको स्थापितले बताउनुभयो । उहाँका अनुसार सहयोग रकम ‘साथीभाई अभियान’मार्फत मनमिल्ने साथीहरुसंगको सहयोगले चल्ने गरेको छ ।

‘जर्मनमा रहेका साथीहरुले बिशेष सहयोग गर्नुहुन्छ’स्थापितले भन्नुभयो‘त्यो बाहेक अन्य देशमा रहेका नेपाली र नेपालमै रहेका सहयोगी महानुभावहरु समेत यो अभियानमा जोडिनु भएको छ’ । नेपालमा २०७२ सालमा आएको भूकम्प पछि शैक्षिक सामग्रीको अभावका कारण बिद्यालय जानबाट बञ्चित रहेका बिद्यार्थीलाई लक्षित गरी शैक्षिक सामग्री सहयोग अभियान सुरु भएको हो । दौंतरीले भूकम्प अघि पनि आर्थिक रुपले विपन्न सदस्यहरुको घर निर्माणमा स्वयंसेवी भूमिका निर्वाह गर्दै आइरहेपनि भूकम्प पछिको अवधिमा भने दौंंतरीलाई संस्थागत र कानुनी प्रकृयामा समेत लगेर संस्थागत अभियान सुरु गरिएको स्थापितले बताउनुभयो ।

स्थापितले दौंतरीको अभियान ताप्लेजुङ केन्द्रित गर्ने कार्यमा समन्वय गर्ने प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई,समाजसेवी रविन प्यासी सहितलाई धन्यवाद दिनुभयो । शैक्षिक सामग्री बितरण कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका पूर्व मन्त्री साम्सोहाङले शैक्षिक सामग्री बितरण अभियानमा साथ दिने दौंतरी नेपाल सहित कार्यक्रममा समन्वय गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो । गैर सरकारी संस्था महासंघ ताप्लेजुङका अध्यक्ष खड्गबिक्रम सुबेदी,दौंतरीका कोषाध्यक्ष उत्तरा मानन्धर सहितले आफ्नो कुरा राख्नु भएको थियो ।

 

 

Similar Posts