लिङ्खिम हुँदै पाथीभरा जाने पदमार्ग निर्माण

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २२ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) जाने पदमार्ग निर्माण गरिएको छ । फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम हुँदै पाथीभरा आउजाउ गर्ने पदमार्ग निर्माण गरिएको हो ।
पाथीभरा क्षेत्र विकास समितिको लगानीमा ढुंगा बिछ्याएर (सोलिङ गरेर) पदमार्ग निर्माण गरिएको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार समितिद्वारा विनियोजित २० लाख रुपियाँ बजेटका लागतमा पदमार्ग निर्माण गरिएको हो । समितिको आन्तरिक स्रोतबाट बजेट विनियोजन गरिएको पनि कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार लिङ्खिमको इच्छातेम्बेदेखि कान्छिथान, माइलीथान हुँदै रमिते डाँडासम्म एक हजार ६०० मिटर पदमार्ग निर्माण गरिएको हो । स्थानीय उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण गरिएको पनि समितिले जनाएको छ ।
उक्त पदमार्ग निर्माण भएसँगै मिक्वाखोला गाउँपालिकाको पापुङ, साँवा, खोक्लिङ तथा फक्ताङ्लुङ गाउँपालिकाको सावादिन, खेजेनिम, इखाबु, तापेथोक, लेलेप, ओलाङ्चुङगोला र लिङ्खिम क्षेत्रबाट पाथीभरा दर्शनमा जाने भक्तजन तथा पदयात्रीलाई सहज हुने भएको छ । पदमार्ग निर्माण गरिएको क्षेत्र गुराँसे वनसहित सुन्दर र आकर्षक भूबनावट भएकाले यात्रुलाई पदयात्रा गर्न पनि आनन्द आउने लिङ्खिमका स्थानीय क्षितिज लिङ्खिम लिम्बूले बताउनुभयो ।
यसअघि समितिकै आर्थिक लगानी फुङ्लिङ नगरपालिका–१० फुरुम्बुको मयाम हुँदै पनि पाथीभरा जाने पदमार्ग निर्माण गरिएको थियो । पदमार्ग निर्माण गरिएपछि पाथीभरा दर्शनमा जाने भक्तजनसँगै अन्य यात्रुलाई आउजाउ गर्न सहज भएको बताइएको छ ।