सम्मान र शुभकामना आदान–प्रदान गर्दै ताप्लेजुङमा मनाइयो तमू ल्होसार,फुटबल र भलिबल प्रतियोगिता पनि सकिदैं
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस १५ । तमू ल्होसार २०८१ को अवसरमा सोमवार ताप्लेजुङमा बिविध कार्यक्रम सम्पन्न भएका छन् ।
फुङलिङ नगरपालिका वडा नं ६ स्थित निमा छ्योखोर्लिङ बौद्ध गुम्बा व्यवस्थापन समिति र तमू ह्युल छोंजी धी गुरुङ राष्ट्रिय परिषद्को आयोजनामा बौद्ध गुम्बा परिसरमा शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक(एआईजी) बुद्धिराज गुरुङ,म्याराथन सहितका बिभिन्न दौड प्रतियोगिताका बिजेता कुमारी गुरुङ,एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने तमू समुदायका बिद्यार्थी तथा बौद्ध गुम्बा व्यवस्थापन समिति र तमू ह्युल छोंजी धीमा लामो समय योगदान गरेका व्यत्तित्वहरुलाई सम्मान गरिएको थियो ।
फुङलिङ नगरप्रमुख अमिर मादेनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आईजी गुरुङ,प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा पौडेल,जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु,बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि,बिभिन्न जातिय संस्थाका प्रमुख एवम् प्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
यता स्वर्गीय पदमबहादुर गुरुङ स्मृति प्रतिष्ठानको संयोजन तथा ताप्लेजुङ स्पोर्टिङ क्लवको आयोजनामा पुस ११ गते देखि जारी फुटबल प्रतियोगिता पनि सोमवारै सकिने भएको छ । यो समाचार तयार पार्दा सम्म उपाधिका लागि यसाथीभाई युवा समुह र संघर्ष स्पोर्टिङ क्लव खेलिरहेका छन् ।
क्लवका अध्यक्ष मणिराज गुरुङका अनुसार तमू ल्होसारको अवसर पारेर आयोजित उक्त प्रतियोगिताका बिजेताले नगद १ लाख ११ हजार र उपविजेताले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य लिलादेवी बोखिमले मुख्य रेफ्री दिपेश आङबुहाङलाई बल हस्तान्तरण गरेर कार्यक्रमको सुरुवात गर्नु भएको हो । यसअघि शुभकामना आदान–प्रदान स्वरुप नगरपालिका गरी र्याली कार्यक्रमस्थल निमा छ्योखिोर्लिङ पुगेको थियो । यता तमू ल्होसारकै अवसरमा सञ्चालित भलिबल प्रतियोगिता पनि अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् ।