कार्य सम्पादनको अन्तिम नतिजामा पनि ताप्लेजुङमा सिरिजङ्गानै पहिलो

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन ३० । स्थानीय तहका लागि निर्धारण गरिएका कार्य सम्पादन सूचकका आधारमा मूल्याङ्कन गरी प्रदान गरेको अंकको अन्तिम नतिजामा पनि ताप्लेजुङमा सिरिजङ्गा गाउँपालिका नै पहिलो भएको छ ।

प्रारम्भिक नतिजामा पाएको अंक भन्दा ०.०२ अंक घटेपनि सिरिजङ्गा जिल्लाभरमा सबैभन्दा बढी अंक पाउने स्थानीय तहमा कायम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा सिरिजङ्गाको अंक ६८.१२ रहेको थियो । अन्तिम नतिजामा उसको अंक ६८.१० कायम भएको छ । दोस्रोमा रहेको पाथीभरा याङवरकको अंकमा पनि ०.०२ अंक घटेर ६५.७० अंक कायम भएको छ । प्रारम्भिक नतिजामा पाथीभरा याङवरकको अंक ६५.७२ रहेको थियो ।

प्रारम्भिक नतिजाको अंकभन्दा मैवाखोलाले अन्तिम नतिजामा सुधार गरेको छ । अन्तिम नतिजामा मैवाखोलाको अंक ६३.६८ भएको छ । प्रारम्भिक नतिजामा मैवाखोलाको ५८.६८ अंक रहेको थियो । प्रारम्भिक नतिजा भन्दा अन्तिम नतिजामा मैवाखोलाले ५ अंकको सुधार गरेको छ । प्रारम्भिक नतिजा भन्दा मेरिङदेन गाउँपालिकाले २.९ अंकको सुधार गरी आफ्नो अंक ६० मा पुर्‍याएको छ । प्रारम्भिक नतिजामा मेरिङदेनको अंक ५७.१ रहेको थियो ।

मिक्वाखोलाको ५८.५८ अंक फेरबदल नभई अन्तिम नतिजामा समेत उति नै कायम हुँदा यसअघि मेरिङदेन भन्दा माथि रहेको मिक्वाखोला अन्तिम नतिजामा भने मेरिङदेन भन्दा पछि परेको छ । सिदिङ्वा र फक्ताङलुङ दुबैको अन्तिम अंक प्रारम्भिक नतिजाको अंक भन्दा झिनोले घटेको छ । दुबै पालिकाको अन्तिम अंक प्रारम्भिक अंक भन्दा ०.०१ ले घटेको छ । सिदिङ्वाको यसअघिको अंक ५७.८९ रहेकोमा अन्तिम नतिजामा ५७.८८ र फक्ताङलुङको ५६.७५ अंक रहेकोमा अन्तिम नतिजामा ५६.७४ कायम भएको छ ।

प्रारम्भिक नतिजा भन्दा फुङलिङ नगरपालिकाको अंक ०.०३ अंकले घटेको छ । प्रारम्भिक नतिजामा फुङलिङको अंक ५०.६५ रहेकोमा अन्तिम नतिजामा ५०.६२ कायम भएको हो । प्रारम्भिक नतिजा भन्दा अन्तिम नतिजामा ८ अंकको सुधार गरेपनि आठराई त्रिबेणी गाउँपालिका जिल्लाका स्थानीय तहमा अंक तालिकाको पुछारमै कायम भएको छ । आठराई त्रिबेणी गाउँपालिकाको अन्तिम नतिजाको अंक ४९.३१ कायम भएको छ ।

प्रारम्भिक नतिजामा आठराई त्रिबेणीको ४१.३१ अंक रहेको थियो । अन्तिम नतिजामा ८ अंकको सुधार गरेको आठराई त्रिबेणीले अन्तिम ८ मा कायम भएको फुङलिङ नगरपालिका संगको अंक दूरी कम गर्दै १.३१ मा सिमित गरेको छ । प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ अनुसार आयोगले विभिन्न १७ सूचकको आधारमा मूल्याङ्कन गर्ने गरेको छ।

बजेट पेश र पारितको समयावधि, आयव्ययको प्रक्षेपण गरी अर्थ मन्त्रालयमा पेश गरेको समयावधि,विनियोजित रकम खर्चको समयावधि र अवस्था,सूत्रको प्रयोग,आवधिक योजना तर्जुमाको अवस्था विश्लेषण गर्ने गरेको छ । शिक्षातर्फ विद्यार्थी भर्नादर,टिकाउको अवस्था,प्राप्त जीपीए,स्वास्थ्यमा गर्भवती महिला तथा बालबालिकालाई खोपको अवस्था लगायतका मापदण्डलाई विश्लेषण गर्ने गरिएको छ ।

Similar Posts