आफैं प्रधानमन्त्री हुन राजनीतिमा आएको हर्कको उद्घोष,प्रत्यक्ष निर्वाचित कार्यकारी,कुलमानप्रति कटाक्ष
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ११ । श्रम संस्कृतिका पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिका नगरप्रमुख हर्क साम्पाङले आफु बिदेशीको इशारामा चल्ने व्यक्तिलाई सत्तामा पु¥याउन नभई आफैं प्रधानमन्त्री हुन राजनीतिमा आएको बताउनु भएको छ । आफ्नो पार्टीमा नेता नहुने र सबै नेता तथा कार्यकर्ता श्रमदाता हुने उहाँको भनाई थियो ।
श्रम संस्कृति पार्टीको ताप्लेजुङ घोषणासभालाई बिहीबार फुङलिङमा सम्बोधन गर्दै साम्पाङले पार्टीको प्रमुख एजेण्डा निर्वाचित प्रमुख कार्यकारी हुने घोषणा गर्नुभयो । पार्टीमा बोल्न पाइने र ह्वीप नलाग्ने तर बोलेको कुरा गलत भए पार्टीमा एकदिन पनि बस्ने हक नहुने भन्दै साम्पाङले कसैको ‘बाद’को पछि नलाग्न आग्रह गर्नुभयो । प्रत्यक्ष निर्वाचित कार्यकारी हुनेभएपछि पार्टी र दल आवश्यक समेत नहुने बताउनु भएका उहाँले अहिलेको परिवेशमा राजनीतिक अवस्था सुधार गर्न दलर्न खोलेर अग्रसर हुनु परेको बताउनुभयो ।‘बिद्यमान राजनीतिको फोहोर सफा गर्न मात्र मैले दल खोलेको हुँ’उहाँले भन्नुभयो । एमसिसी पास गर्नेहरुलाई बिदेशी दलालको संज्ञा दिनु भएका उहाँले ‘देश बेचेर सुकिला मुकिला हुने भन्दा श्रम गरेर झत्तो भएको व्यक्ति’नै मान सम्मानको लायक हुने बताउनुभयो ।
उर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको पार्टीप्रति संकेत गर्दै साम्पाङले भन्नुभयो‘एउटा पार्टी बत्तिमात्रै बाल्छु भनेर आएको छ,बिदेशी ऋण लिएर,बिदेशीको चाकरी गरेर बत्ति बाल्नुभन्दा आफ्नो स्वाभीमान ठाडो हुनेगरी टुकी बालेर बस्नु नै देशभक्त हो’ । उहाँले कुलमानप्रति कटाक्ष गर्दै एमसिसी पास गर्ने एक सुत्रपात भएको आरोप लगाउनुभयो ।‘केहि पहिचानवादी भनेर आफुलाई चित्रित गर्नेहरु समेत कुलमान जीसंग गएका छन्’डकेन्द्रसिंह थेगिम सहितका नेताहरुलाई संकेत गर्दै उहाँले प्रतिप्रश्न गर्नुभयो‘माटोलाई चिनेकै छैन के को पहिचान ?’ । आफ्नो पार्टीको झण्डा नहुने र साथमा औजार हुने उहाँको भनाई थियो । पार्टीले पत्रकार,शिक्षक र कर्मचारीलाई पार्टी सदस्यता नदिने उहाँले बताउनुभयो ।
बिद्यालयको पढाई बढीमा ३ दिनमा सिमित गर्ने र ४ दिन व्यवहारिक शिक्षा केन्द्रित बहुउपयोगी सिकाई गराउने उहाँले बताउनुभयो । कार्यालय समेत ३ दिन मात्र खोल्ने पार्टीको बिशेषता उहाँले सुनाउनुभयो । कार्यालय पूर्णतया पेपरलेस गराउने उहाँले दावी गर्नुभयो । आफ्नो पार्टीमा आउनेलाई माटो छोवाएर शपथ खुवाउनु भएका उहाँले‘तीन करोड नेपालीको ६ करोड हात,चलाउनुपर्छ एकैसाथ’ भन्ने नारा दिँदै ७ दिनमध्ये ६ दिन पेटका लागि र एकदिन देशका लागि श्रमदान गर्नु पार्टी कार्यकर्ताको कर्तव्य हुने बताउनुभयो ।