तीव्र दबाब पछि दुईबर्ष सम्म काममा नआएको ताप्लेजुङको सुकेटार–काफ्लेपाटी सडकका ठेकेदार कार्यस्थलमा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १६ । ताप्लेजुङस्थित पाथीभरा मन्दिरसम्म पुग्ने सुकेटार–काफ्लेपाटी सडक कालोपत्रे गर्ने जिम्मा लिएको कन्टेक प्रालिले कम्पनीकै व्यवस्थापकीय कमजोरीका कारण काममा ढिलाई भएको भन्दै अब काममा फर्किएको जनाएको छ ।
कम्पनीका प्रवन्ध निर्देशक दिक्षान्त दाहाल र कम्पनीका मानव शंसाधन तथा व्यवस्थापन प्रमुख गणेश मैनाली सहितका प्रतिनिधि शनिवार बाँकी कामको प्रारम्भिक खाँकासहित नियमक निकाय तमोर करिडोर(सुभाङखोला–दोभान–ओलाङचुङगोला)सडक योजना कार्यालय उपस्थित हुनु भएको थियउो ।‘आजबाट हामीले ब्याक कटिङ(माटो कटान)को काम थालेका छौं,अब द्रुत गतिमा काम हुन्छ’कम्पनीका प्रवन्ध निर्देशक दाहालले भन्नुभयो । उहाँका अनुसार २ वटा मेसिन कालोपत्रे सडकको सुरुआत केन्द्र(जिरो प्वाईन्ट)सुकेटारबाट ब्याक कटिङ गर्दै काफ्लेपाटीतर्फ अघि बढ्ने छ ।
तमोर करिडोर(सुभाङखोला–दोभान–ओलाङचुङगोला)सडक योजना कार्यालयका ईञ्जिनियर बसन्त गाँईका अनुसार कम्पनीले १ लाख ८० हजार घनमिटर माटो कटान गर्नुपर्नेमा अहिले सम्म ३० हजार घनमिटर मात्र कटान गरेको छ । नियमक निकायले निर्माण कम्पनीलाई बाँकी १ लाख ५० हजार घनमिटर माटो कटान सहितका कार्य गर्न बाँकी रहेकोले थप उपकरण कार्यस्थलमा थप्न सुझाएको छ । निर्माण कम्पनीका एक प्रतिनिधि कुशल शर्माले फुङलिङ र मिक्वाखोला क्षेत्रको दर्गुर्नेमा कालोपत्रेका लागि प्रयोग हुने बेस सामाग्रीका लागि कम्पनी आफैंले क्रसर मेसिन जडान गर्न थालेको बताउनुभयो । उहाँका अनुसार बढीमा एक महिना भित्रमा त्यहाँ क्रसर जडान भईसक्ने छ । कम्पनीका प्रवन्ध निर्देशक दाहालले सिमेन्ट सहितका मेटेरियल र जनशक्ति कार्यस्थलमा आइपुग्न कम्तिमा १० दिन लाग्ने भएकोले माटो कटान पछि ढल तथा नाली निर्माणको कार्य सुरु हुने जानकारी दिनुभयो ।
कम्पनीले निर्माण स्थलमा बरिष्ठ ईञ्जिनियरको नेतृत्वमा कन्ट्रयाक म्यानेजर नियुक्ति गर्ने बताएको छ ।‘अब हामीलाई कानुनी र नैतिक हिसावले पनि यो कामबाट भाग्ने वा छलिने अवस्था छैन’कम्पनीका मानव शंसाधन तथा व्यवस्थापन प्रमुख मैनालीले भन्नुभयो । उहाँले समयावधि भन्दा केहि ढिला भएपनि आफुहरु कार्यस्थलमा आईसकेकोले काममा शंका नगर्न आस्वास्त पार्ने प्रयास गर्नु भएको छ । तमोर करिडोर(सुभाङखोला–दोभान–ओलाङचुङगोला)सडक योजना कार्यालयका प्रमुख(डिभिजनल ईञ्जिनियर)सुर्दशन कार्कीले निर्माण सामाग्री,निर्माण जनशक्ति र रकमको अभाव हुन नदिने गरी पूर्ण तयारी स्वरुप तीव्रताका साथ काममा लागि निर्माण कम्पनीलाई सुझाउनु भएको छ । दिन र रात दुई समयावधि(सिफ्ट)मा काम गर्ने प्रवन्ध गर्न समेत कार्कीको सुझाव छ । उहाँले निर्माण कार्यको दैनिक प्रतिबेदन आफ्नो निकायमा दिन निर्माण कम्पनीलाई भन्नु भएको छ ।
सुकेटारबाट काफ्लेपाटी सम्मको १० किलोमिटर लामो दुरीको सडक ७ मिटर चौंडाको हुने सडक योजना कार्यालयका ईञ्जिनियर गाँईले बताउनुभयो । यसमा ढल तथा नालीको प्रवन्ध गरिएको समेत उहाँले जानकारी दिनुभयो । निर्माण कम्पनी कन्टेक प्रालिले सो सडक खण्ड आउँदो असार ११ गते सम्ममा कालोपत्रे गरिसक्नु गरी सम्झौता भएको थियो । कन्टेक प्रालिसंग २०७८ पुस ११ गते सुकेटारबाट काफ्लेपाटीसम्मको १० किलोमिटर कालोपत्र गर्ने ठेक्का सम्झौता भएको थियो । ९५ करोड रुपैयाँको बोलपत्र आवह्वान भएकोमा कन्टेकले ४१ करोड ७६ लाख ४७ हजार अर्थात् बोलपत्र आवह्वान भएको अंकको ४६ प्रतिशत घटीमा ठेक्का पारेको थियो । सम्झौता भएको २ बर्ष अवधि पूरा हुँदा समेत हाल सम्म कूल कामको ७ प्रतिशत मात्र भौतिक प्रगति देखिएको सडक योजना कार्यालयले बताएको छ ।
बर्षेनि लाखौं तीर्थयात्री आवतजावत् गर्ने पाथीभरा क्षेत्रको यो सडक निर्माण कम्पनीले काम नगरेपछि पछिल्लो समय यहाँका जनप्रतिनिधिले कित जिम्मा लिएको काम समयमा पूरा गर्न कित काम छाड्न दबाब दिदैं आएका थिए । गत असोज १४ गते प्रनिनिधिसभाका सासंसद योगेशकुमार भट्टराईको संयोजनमा सडक विभाग,निर्माण कम्पनी र यहाँस्थित सडक योजना कार्यालयका प्रतिनिधि बसेर तत्काल काम थाल्ने सहमति गरिएको थियो । त्यसको एकसातापछि पाथीभराको सिजन सुरु भएको समयमा कम्पनीका सुपरभाईजर मदन कठायत कार्यस्थलमा आएपनि काममा खासै प्रगति भएको थिएन ।
अघिल्लो साता प्रतिनिधिसभाका सांसद लीलादेवी बोखिमको संयोजनमा भएको छलफलका क्रममा निर्माण कम्पनी कन्टेकलाई कामको पछिल्लो अवस्था र शंसोधित कार्यतालिका सहित उपस्थित हुन सडक योजना कार्यालयले बोलाउने सहमति भएको थियो । लिखित पत्राचार पछि शुक्रवार कार्यस्थल आईपुगेको कम्पनीको टोलीसंग शनिवार सांसद बोखिम,जिसस प्रमुख छिरिङ लामा,फुङलिङ नगरप्रमुख अमिर मादेन,जिसस उपप्रमुख कृष्णप्रसाद लिङखिम,पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे,पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका रणबहादुर कार्की र जिविसका पूर्व सभापति दीपेन्द्रकुमार सेन्दाङ सहितका सरोकारवालाको खबरदारी बैठक बसेको हो ।
फोटो ः कार्यस्थलमा आएको इन्टेक प्रालिको टिमसंग निर्णायक छलफल गर्दै जनप्रतिनिधि र नियमक निकायको टिम