| |

ताप्लेजुङका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, असोज ४ । शिक्षकहरूको आन्दोलनका कारण ताप्लेजुङका अधिकांस सामुदायिक विद्यालयका पठनपाठन प्रभावित भएको छ । संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलन गर्न काठमाडौंमा केन्द्रित भएपछि सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको हो ।
देशभरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले बुधबारदेखि प्रस्तावित शिक्षा विधेयकविरुद्ध काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् । उक्त आन्दोलनमा सहभागी हुनलाई ताप्लेजुङबाट पनि प्रतिनिधिमुलक करिव ४० शिक्षक काठमाडौं गएका र यहाँ रहेका शिक्षकहरुले आन्दोलनलाई समर्थन जनाउँदै विद्यलाय नखुलाएपछि पठनपाठन प्रभावित बनेको हो ।
शिक्षकहरु आन्दोलनमा उत्रिएका कारण ताप्लेजुङका करिव ३३० वटा सामुदायिक विद्यालयमा अध्ययनरत २८ हजार ५०० बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । बिहीबार बिहानैदेखि सामुदायिक विद्यालयको पठनपाठन प्रभावित बनेको जानकारी प्राप्त भएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो ।
जिल्लाका अधिकांस सामुदायिक विद्यालयका पढाई प्रभावित बनेको खबरहरु प्राप्त भएको इकाइ प्रमुख भट्टराईले बताउनुभयो । उहाँकाअनुसार बिहानी समयमा पढाई (कक्षा सञ्चालन) हुने कक्षा ११ र १२ तथा १० बजेपछि पढाइ हुने अन्य कक्षाहरुमा अध्ययनरत विद्यार्थीको पढाई प्रभावित बनेको छ । निजी विद्यालयहरुको पठनपाठन भने नियमित रुपमा सञ्चालित रहेको उहाँले जानकारी दिनुभयो । जिल्लाका केही विद्यालयहरु बिहान १० बजे खुले पनि उपस्थिति (हाजिर) जनाएर बन्द भएका बुझिएको छ । आन्दोलनकै कार्यक्रमअन्तर्गत जिल्लास्तरमा विभिन्न संघ, संगठनमा आवद्ध शिक्षक नेतृत्वहरु संस्थाको कार्यालयमा भेला भएका बताइएको छ । शिक्षक महासंघको कार्यक्रमअनुसार जिल्लामा गर्ने आन्दोलनका क्रियाकलापमा आफूहरु सहभागी भएको शिक्षक कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
यता शिक्षकहरुको आन्दोलनका कारण विद्यालय बन्द भई आफ्ना बालबालिकाको पढाइ प्रभावित भएपछि आभिभावक भने चिन्तित बनेका छन् । अभिभावकले बालबालिकाहरुको भविश्यप्रति गम्भीर बन्न शिक्षक र सरकारलाई आग्रह पनि गरेका छन् । ताप्लेजुङमा स्थायी, अस्थायी र राहत दरबन्दी गरी कुल एकहजार ३१३ जना शिक्षक सामुदायिक विद्यालयमा कार्यरत रहेका शिक्षा विकास तथा समन्वय इकाइको तथ्यांक रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts