| |

ताप्लेजुङमा ६४ जना एसइई दिने परीक्षार्थी अनुस्थित

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत ७ । ताप्लेजुङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिन बिहीबारको परीक्षा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । जिल्लाभरका परीक्षा केन्द्रमा निर्धारित समयमा परीक्षा सुरु भएर शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको हो ।
शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका अनुसार एसइई परीक्षा सञ्चालनका लागि १७ वटा केन्द्र रहेका छन् । परीक्षा सञ्चालनका लागि निर्धारण भएका १७ वटै केन्द्रमा पहिलो दिनको परीक्षा मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख युगमणि सबेहाङले जानकारी दिनुभयो ।
यता पहिलो दिन अनिवार्य अङ्ग्र्रेजी विषयको परीक्षा भएको र ६४ जना परीक्षार्थी (विद्यार्थी) भने अनुपस्थित भएका इकाई प्रमुख सबेहाङले बताउनुभयो । नियमिततर्फका १८ जना र ग्रेडवृद्धि लेख्ने ४६ जना परीक्षार्थी अनुपस्थित रहेका सबेहाङले जानकारी दिनुभयो । पहिलो दिनको परीक्षामा नियमिततर्फका एक हजार ५१९ जना परीक्षार्थीले सहभागिता जनाएका छन् । यस्तै ग्रेडवृद्धितर्फका २८३ जनाले परीक्षा लेखेका छन् ।
परीक्षामा सहभागी हुनेमा नियमिततर्फ ८३७ जना छात्रा र ६८२ जना छात्र रहेका छन् । त्यस्तै ग्रेडवृद्धितर्फ १६० छात्रा र १२३ जना छात्रले परीक्षा लेखेका शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । यसैगरी अनुपस्थित हुनेमा नियमिततर्फका १८ मध्ये १२ जना छात्र र छ जना छात्रा रहेका छन् । ग्रेडवृद्धि तर्फका २८ जना छात्रा र १८ जना छात्र परीक्षामा अनुपस्थित रहेका थिए ।
यता जनता माध्यमिक विद्यालय हाङ्देवा परीक्षा केन्द्र भएका एक विद्यार्थीले ताप्लेजुङ कारागारबाट परीक्षा लेखेका पनि इकाइले जनाएको छ । कारागारबाट परीक्षा दिने परीक्षार्थी भने भानुजन माध्यमिक विद्यालयमा अध्ययनरत छात्र हुन् ।
जिल्लाका १७ वटा परीक्षा केन्द्रमध्ये सबैभन्दा बढी फुङ्लिङ नगरपालिका–३ मेदिबुङस्थित बाल सुवोधिनी संस्कृत विद्यालयबाट २३८ जना परीक्षार्थीले परीक्षा लेखेका छन् । सबैभन्दा न्यून फुङ्लिङ नगरपालिकाकै वडा ८ दोखुस्थित सिद्धकाली माध्यमिक विद्यालय केन्द्रबाट ५६ जनाले एसइई लेखेका शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । परीक्षा निर्धारित समय बिहान ८ बजेदेखि सुरु भएर ११ बजेभित्र सम्पन्न भएको इकाई प्रमुख सबेहाङले जानकारी दिनुभयो ।

Similar Posts