सुकेटारको नाम परिवर्तनप्रति वाइसीएलको पनि विरोध
–उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ १७ । सरकारले शनिबार अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८/८९ को बजेट वक्तब्य प्रस्तुत गर्दै सुकेटार विमानस्थल लगायत पूर्वका केही स्थानको नाम परिवर्तन गरेकोप्रति चौतर्फी विरोध भइरहेका बेला योङ कम्युनिस्ट लिग वाईसीएलका एक नेताले पनि कडा विरोध जनाउनुभएएको छ ।
ऐतिहासिकता र पहिचान नै नामेट हुनेगरी नाम परिवर्तन गरेमा वाईसीएल नेपाल जनमुक्ति सेना विभाग केन्द्रीय सचिव योमन लिम्बू (नरेश) ले आफ्नो सामाजिक सञ्जालमा स्टाटस् लेख्दै घोर आपत्ति जनाउनुभएको छ । उहाँले स्टाटस लेख्नुभएको छ– ‘ताप्लेजुङको ऐतिहासिक सुकेटार विमानस्थल, तेह्रथुमको चुहानडाँडामा निर्माणाधीन विमानस्थल, झापाको पाडाजुङीमा स्थानीय समुदाय र नेपाल सरकारबीच आपसी सहमतिमा निर्मित आदिवासी रंगशाला लगायत अरु थुप्रै पूर्वाधार तथा सम्पत्तिमाथि अनावश्यक रुपमा नेपाल सरकारले हालै गरेको नाम परिवर्तन उपर वाइसीएल नेपालको घोर आपत्ति छ ।’ उहाँले अन्त्यमा लेख्नुभएको छ, ‘अन्ततः सत्य यहि हो कि, बरु हाम्रो रगत बग्ने छ तर हामी कदापि झुक्ने छैनौं ।।
यसरी उहाँ जस्तै धेरै युवा, विद्यार्थी, बौद्धिक व्यक्तित्व लगायत देश विदेशमा रहेका सचेत नागरिकले सामाजिक सञ्चालनहरुमार्फत नाम परिवर्तन गरेको कडा विरोध जनाउँदै तत्काल सच्याउन पनि माग गरेका छन् ।
आइतबार मात्रै ताप्लेजुङस्थित नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, संघीय लिम्बुवान मञ्च नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गर्दै सुकेटारको नाम परिवर्तन गरेकोमा आपत्ति जनाउँदै सच्याउन माग गरेका छन् । त्यस्तै अनेरास्ववियु क्रान्तिकारी र जनता समाजवादी पार्टी ताप्लेजुङले आइतबार नै छुट्टा–छुट्टै विज्ञप्ति प्रकाशित गरी आपत्ति जनाएका छन् । नाम परिवर्तन गरेको गलत कदम नसच्याए सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेट प्रस्तुत गर्दै सुकेटारलाई रवीन्द्र अधिकारी विमानस्थल र प्रस्तावित तेह्रथुमको चुहानडाँडा विमानस्थललाई आङ्छिरिङ शेर्पा विमानस्थल नामाकरण गरिएको उल्लेख गर्नुभएको थियो ।