मन्त्री भट्टराइद्धारा आफ्नो कोरोना बीमा बापतको रकम नै जिल्लाका नागरिकको बीमा गर्नमा खर्च,करिव सोह्रसयको बीमा
ताप्लेजुङ,मंसिर १० । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले कोरोना बीमा बापत प्राप्त रकम र आफ्नो पारिश्रमिकबाट ताप्लेजुङका एकहजार पाँचसय ७६ जनाको कोरोना बीमा गरिदिनु भएको छ । मन्त्री भट्टराइको स्वकीय सचिवालयले बुधवार एक बिज्ञप्तीमार्फत उक्त जानकारी दिएको हो ।
मन्त्री भट्टराइका प्रमुख स्वकीय सचिव प्रेम गुरागाँइका अनुसार कोरोना बीमा बापत मन्त्री भट्टराइले प्राप्त गरेको एकलाख रुपंैंया रकमबाट ताप्लेजुङ जिल्लाका तीनसय जना न्यून आय भएका, विपन्न, विद्यार्थी, असहाय तथा मजदूरहरुको कोरोना बीमा गरिएको छ । मन्त्री भट्टराइ गत असोज ८ गते कोरोना संक्रमित भइ त्यसको करिव १० दिन पछि कोरोना संक्रमण मुक्त हुनु भएको हो । कोरोना बीमा बापत उहाँले बीमा कम्पनीबाट एकलाख रुपैंया पाउनु भएको थियो ।
स्वकीय सचिव गुरागाँइका अनुसार मन्त्री भट्टराइले यसअघि नै ताप्लेजुङ स्थायी ठेगाना भएका एकहजार दुईसय ७६ जनाको कोरोना बीमा गरिदिनु भएको छ । मन्त्री भट्टराइकै करिव ८० प्रतिशत आर्थिक सहयोगमा प्रेश संगठन नेपालले ताप्लेजुङका ५० भन्दा बढी सञ्चारकर्मीको कोरोना बीमा गरिदिएको छ । मन्त्री भट्टराइ २०७४ सालमा ताप्लेजुङ जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित हुनु भएको हो ।