ताप्लेजुङको सिरिजङ्गा र फक्तालुङद्धारा बिशेषज्ञ सहितको स्वास्थ्य शिविर आयोजना

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन ७ । ताप्लेजुङको सिरिजङ्गा र फक्तालुङ गाउँपालिकामा बिशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । फक्तालुङ गाउँपालिकामा बरिष्ठ नेत्र रोग बिशेषज्ञ डाक्टर सन्दुक रुईटको नेतृत्वमा रहेको टोलीले आँखाको शल्यकृया सहितको उपचार सेवा प्रदान गर्ने भएको छ ।
फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष मुक्ति(राजन)लाबुङ लिम्बूका अनुसार डाक्टर रुईट नेतृत्वको टोलीले फागुन २० र २१ गते आँखाको शल्यकृया सहितको उपचार सेवा प्रदान गर्ने छ । सो भन्दा अघि आँखा स्वास्थ्य प्राविधिकहरुले आँखा जाँच तथा आँखाको शल्यकृया गर्नुपर्ने बिरामीको छनौट गर्नेछन् । फागुन ८ गते घुन्सा स्वास्थ्य चौकीमा,फागुन ११ गते ओलाङ्चुङगोला स्वास्थ्य चौकीमा,१३ गते हान्द्रुङ टार हान्द्रुङमा,१४ र १५ गते छिरुवा बजारमा,१६ र १७ गते सिँवा स्वास्थ्य चौकी सिँवा बजारमा र १९ र २० गते फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा आँखा जाँच तथा आँखाको शल्यकृया गर्नुपर्ने बिरामीको छनौट शिविर सञ्चालन गरिने छ । आँखाको शल्यकृया तथा थप बिशेषज्ञ सेवा प्रदान गर्नुपर्नेगरी छनौट भएका बिरामीलाई फागुन २० र २१ गते बरिष्ठ नेत्र रोग बिशेषज्ञ डाक्टर रुईट नेतृत्वको टोलीले उपचार सेवा प्रदान गर्ने गाउँपालिकाले जनाएको छ ।
यस्तै सिरिजङ्गा गाउँपालिकाले नोबेल मेडिकल कलेज बिराटनगरको प्राविधिक सहयोगमा गाउँपालिकाको केन्द्र तेल्लोकमा फागुन १५ र १६ गते बिशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलका अनुसार ९ वटा बिशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो । शिविरमा मुटुरोग सम्वन्धी जनरल मेडिसिन बिशेषज्ञ सेवा,स्त्री तथा प्रसुति रोग बिशेषज्ञ सेवा,हाड जोर्नी तथा नशा रोग बिशेषज्ञ सेवा,नाक,कान र घाँटी रोग बिशेषज्ञ सेवा र यौन तथा छाला रोग बिशेषज्ञ सेवा सञ्चालन हुने छ । यस्तै आँखा रोग बिशेषज्ञ सेवा,रेडियोलोजी सेवा,वाल रोग बिशेषज्ञ सेवा र दन्त रोग बिशेषज्ञ सेवा प्रदान हुनेगरी तयारी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोखरेलले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts