| |

पाथीभरा केवलकार निर्माणविरुद्ध संघर्ष समिति

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, माघ ११ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा केवलकार निर्माण गर्न नहुनेभन्दै संघर्ष समिति गठन गरिएको छ । पाथीभरामा निर्माण गर्न लागिएको केवलकार खारेजीको माग गर्दै ‘केवलकार निर्माण खारेजी संघर्ष समिति’ गठन गरिएको हो ।
पाथीभरामा केवलकार निर्माण प्रक्रिया सुरु भएपछि बनेको मुक्कुमलुङ संयुक्त संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ, लिम्बू थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह र किराँत धर्म तथा साहित्य उत्थान संघले संघर्ष समितिको घोषणा गरेका छन् । उक्त संस्थाहरुले एकहजार आठ सदस्यीय केवलकार निर्माण खारेजी संघर्ष समिति गठन गरेको सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्षसमेत रहनुभएका खगेन्द्र फेम्बू लिम्बूको को संयोजकत्वमा उक्त संघर्ष समिति घोषणा गरिएको हो । सङ्घर्ष समिति सार्वजनिक गर्दै केवलकार निर्माणविरुद्ध जस्तोसुकै मूल्य चुकाउन आफूहरु तयार रहेको मुक्कुमलुङ संयुक्त संघर्ष समितिका संयोजक श्री लिङ्खिमले बताउनुभयो ।
लिम्बू समुदायको ऐतिहासिक धार्मिक आस्थाको केन्द्र मुक्कुमलुङको रक्षा तथा प्राकृतिक स्रोतको संरक्षणका लागि संघर्ष समितिको नेतृत्वको हैसियतले आफूले जस्तोसुकै बलिदान दिन तयार रहेको खगेन्द्र फेम्बूले बताउनुभयो । लिम्बूको मुन्धुमी स्थल पवित्र धार्मिक आस्थाको केन्द्र मुक्कुमलुङको अस्तित्व मात्र नभई यसक्षेत्रमा पाइने रुख बिरुवा, बहुमूल्य जडीबुटी, लोपोन्मुख वनस्पतिलगायत जैविक विविधता नास हुने हुँदा यसको संरक्षणका लागि आफूहरु लागिपरेको संयोजक फेम्बूको भनाइ छ ।
विकासको नाममा धार्मिक स्थलसँगै प्राकृतिक तथा साँस्कृतिक सम्पदाको अस्तित्वमाथि नै असर पुग्नेगरी कुनैपनि कार्य गर्न नहुने संघर्ष समितिका विभिन्न नेतृत्वले बताएका छन् । केवलकारको कुनैपनि काम गर्न नदिने र काम सुरु गरेमा आफूहरु सशक्त प्रतिरोधमा उत्रने समितिले जनाएको छ ।
पाथीभरामा पाथीभरा दर्शन केवलकार प्रालिले केवलकार निर्माण गर्नेगरी सबै प्रक्रिया पूरा गरिसकेको जनाइएको छ । स्थानीय समुदायको सहमति बिना व्यवसायिक योजनाकासाथ केवलकार निर्माण गर्ने प्रक्रियाको थालनी भएकोभन्दै सुरुदेखि नै विरोध हुँदै आएको छ । यता पाथीभरा अतिक्रमण भएको ऐतिहासिक नाम मुक्कुमलुङ नै कायम गर्नुपर्ने, मुन्धुमी मर्म र भावनाअनुरुप यसको संरक्षण साथै विकास गरिनुपर्ने पनि माग दोहो¥याइएको छ ।
प्रेस विज्ञप्तिमा मुक्कुमलुङ संयुक्त संघर्ष समिति संयोजक श्री लिङ्खिम, किरात याक्थुङ चुम्लुङका प्रेम येक्तेन, लिम्बू थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूहका राम मादेन र किराँत धर्म तथा साहित्य उत्थान संघका डकेन्द्रसिंह थेगिमले हस्ताक्षर गर्नुभएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts