विद्यालय र स्वास्थ्य संस्थामा अक्षयकोष स्थापना गर्न रकम हस्तान्तरण

-प्रयास लिम्बू
ताप्लेजुङ, पुस २८ । ताप्लेजुङमा एक धार्मिक संस्थाले विद्यालय र स्वास्थ्य संस्थामा अक्षयकोष स्थापना गर्नका लागि रकम हस्तान्तरण गरेको छ । जिल्लाका चारवटा स्वास्थ्य संस्था र प्रत्येक स्थानीय तहका एक–एकवटा माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नका लागि संस्थाले सम्बन्धित विद्यालय तथा संस्थालाई रकम (नगद) हस्तान्तरण गरेको हो ।
सदरमुकाम फुङ्लिङस्थित होटल माउन्टेनको सभाहलमा बिहीबार कार्यक्रमको आयोजना गरी सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनस्थित हरी जीव सत्य धर्म नामक धार्मिक संस्थाले अक्षयकोषको रकम हस्तान्तरण गरेको हो । संस्थाले प्रत्येक विद्यालय र स्वास्थ्य संस्थालाई अक्षयकोष स्थापनार्थ १८ हजार रुपियाँका दरले रकम हस्तान्तरण गरेको छ । ताप्लेजुङबाहेक झापाका तीनवटा विद्यालयलाई पनि अक्षयकोष स्थापना गर्न रकम प्रदान गरिएको संस्थाले जनाएको छ ।
अक्षयकोष स्थापना गर्नका लागि फुङ्लिङ नगरपालिकाको भानुजन माध्यमिक विद्यालय र वीरेन्द्र माध्यमिक विद्यालयलाई रकम हस्तान्तरण गरिएको छ । यस्तै आठराई त्रिबेणी गाउँपालिका–३ को सरस्वती माध्यमिक विद्यालय, मैवाखोला गाउँपालिकाको नारायणी माध्यमिक विद्यालय, सिदिङ्वा गाउँपालिकाको भञ्ज्याङ माध्यमिक विद्यालय, मेरिङ्देन गाउँपालिकाको सूर्यदेवी माध्यमिक विद्यालयलाई रकम हस्तान्तरण भएको छ ।
त्यस्तै मिक्वाखोला गाउँपालिकाको साँवा माध्यमिक विद्यालय, फक्ताङ्लुङ गाउँपालिका–५ को सरस्वती माध्यमिक विद्यालय, पाथीभरा याङ्वरक गाउँपालिकाको थेचम्बु माध्यमिक विद्यालय र सिरिजङ्घा गाउँपालिकाको दुर्गा माध्यमिक विद्यालयलाई रकम हस्तान्तरण गरिएको छ । यसैगरी झापाको कञ्चनबारी माध्यमिक विद्यालय बिर्तामोड, पथरी माध्यमिक विद्यालय कचनकवल र शनिश्चरे माध्यमिक विद्यालय शनिअर्जुनलाई अक्षयकोषको रकम हस्तान्तरण गरिएको छ ।
स्वास्थ्य संस्थाअन्तर्गत सिरिजङ्घा गाउँपालिकाको तेल्लोक अस्पताल, आम्बेगुदिन स्वास्थ्यचौकी, सिनाम स्वास्थ्यचौकी र सिकैँचा स्वास्थ्यचौकीलाई अक्षयकोष स्थापनार्थ रकम हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष तेजबहादुर भट्टराईले बताउनुभयो । धार्मिक संस्थालाई सेवामुखी बनाउने उद्देश्यसहित अक्षयकोष स्थापना, समाज सेवा लगायतका कार्यहरु गर्न सुरु गरिएको अध्यक्ष भट्टराईको भनाइ छ ।
अक्षयकोषको रकम थोरै भए पनि कोषबाट सम्बन्धित विद्यालयमा अध्ययनरत गरीव, दुःखी, असहाय, साथै जेहेन्दार तथा लगनशील विद्यार्थीलाई सहयोग पुग्ने अपेक्षा संस्थाले राखेको छ । त्यस्तै उपचार तथा प्रसूति सेवा लिन पुगेका दीनदुःखी साथै असहाय परिवारका नवजात शिशु र आमालाई सहयोग गर्न स्वास्थ्य संस्थामा अक्षयकोष स्थापना गर्न रकम हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।
यता अक्षयकोष स्थापनाका लागि विभिन्न दाताले रकम सहयोग गर्नुभएको पनि संस्थाका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । अक्षयकोषको रकम जिल्लास्थित शिक्षा विकास तथा समन्य इकाइ प्रमुख योगेश्वर भट्टराई लगायतको उपस्थितिमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक र स्वास्थ्य संस्थाका प्रतिनिधिलाई हस्तान्तरण गरिएको छ । संस्थाले यसअघि सिरिजङ्घा गाउपालिकाका प्रत्येक वडाका एक–एक वटा विद्यालयमा अक्षयकोष स्थापना गरिदिएको जनाएको छ ।