मिक्वाखोलाको साँबामा ब्याडमिन्टन हल बन्ने
–उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ १० । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा ब्याडमिन्टन हल निर्माण हुने भएको छ । गाउँपालिका केन्द्र साँबामा सुविधासम्पन्न ब्याडमिन्टन हल बन्ने भएको हो ।
दुई करोड १४ लाख रुपैयाँ बजेटको लागतमा निर्माण हुने उक्त ब्याडमिन्टन हलको शुक्रबार गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीले सिलान्यास गर्नुभएको छ । कुल रकममध्ये प्रदेश १ सरकारको समपुरक बजेटअन्तर्गत एक करोड रुपैयाँ र गाउँपालिकाको एक करोड १४ लाख रुपैयाँ रहेको पालिका अध्यक्ष कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार उक्त हाल निर्माण गर्ने जिम्मा पलाञ्चोक कन्स्ट्रकसनले पाएको छ । यता हलको सिलान्यास भएसँगै निर्माण कार्यले निरन्तरता पाउने पनि उहाँको भनाइ छ । ब्याडमिन्टन हल तीन रोपनी क्षेत्रफल बराबरको जग्गामा निर्माण हुने भएको छ । जग्गा भने स्थानीय बेखबहादुर लिम्बू, नरमाया लिम्बू र शेरबहादुर थलङले निःशुल्क उपलब्ध गराउनुभएको गाउँपालिकाले जनाएको छ ।