ताप्लेजुङको मैवाखोलाको कृषिउपज उत्पादन अब संघीय राजधानी काठमाडौंमै पाइदै,बानेश्वरमा खुल्यो स्टल
खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ७ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा उत्पादन भएका रैथाने तथा अग्र्यानिक कृषि उपज अब संघीय राजधानी काठमाडौंमै उपलब्ध हुने भएको छ ।
डिग फर नेपालसंगको सहकार्यमा मैवाखोला गाउँपालिकाले पालिकामा उत्पादन भएका रैथाने कृषि उपजका उत्पादन काठमाडौं नयाँ बानेश्वरस्थित मौलिक भान्छाघरको प्रांगणमा स्टल राखी बिक्रीमा लैजाने भएको हो । पालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार प्रत्येक शनिवार बिहान ७ बजे देखि १२ बजेसम्म सञ्चालन हुनेगरी मौलिक भान्छाघरको प्रांगणमा मैवाखोलामा उत्पादन भएका कृषि उपजको स्टल राखी बिक्री सुरु गरिएको छ । पालिकाले रैथाने र अग्र्यानिक उत्पादन गरी बजारमा सहकार्य गर्न पालिकाबासीलाई आवह्वान समेत गरेको छ । पालिका अध्यक्ष वनेमले मैवाखोलामा उत्पादन भएका कृषि उपज रैथाने बालीलाई बिक्रीस्थलसम्म पु¥याउने कार्यमा पालिकाले सहजीकरण गर्ने बताउनुभयो ।
पालिकाले रसायनिक बिषादी बिस्थापन गरी जैविक मल उत्पादन गर्न गाउँमै उद्योग स्थापनाको कार्य समेत सुरु गरेको छ । अग्र्यानिक उत्पादनलाई ध्यान दिन पालिकाले गाउँमै जैविक(प्राङ्गारिक)मल उत्पादन उद्योग स्थापनाका लागि ठेक्का लगाई प्रकृया सुरु गरेको हो । रैथाने कृषि उत्पादनलाई प्राथमिकता दिन तथा उत्पादन भएका चिजबस्तुको सहज बजारीकरणका लागि संघीय राजधानी सहितका स्थानमा बिक्री स्टल राख्ने कार्यमा पालिका अग्रसर भएको छ । किसान,बजार,प्रविधि र उपभोक्तालाई एकै ठाउँमा जोड्न पालिकाले अग्रसरता लिएको पालिका अध्यक्ष वनेमले बताउनुभयो ।
मैवाखोला घर भई पेशा व्यवसायको सिलसिलामा काठमाडौं बस्दै आएका ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष बलबहादुर तामाङ आफ्नो पालिकाको कृषि उपज उत्पादन राजधानीमै पाइन थालेकोप्रति खुसी व्यक्त गर्नुहुन्छ । रैथाने र अग्र्यानिक बालीको उपभोगले स्वस्थ्य जीवनका लागि समेत योगदान दिने भएकोले खोलिएको स्टलबाट उपभोक्ताले लाम लिनसक्नुपर्ने तामाङले बताउनुभयो । मैवाखोला कृषि उपन उत्पादनका हिसावले बलियो सम्भावना भएको क्षेत्र हो । पालिका अध्यक्ष वनेमले पालिकाले कृषि क्षेत्रको प्रर्वद्धनका लागि बिशेष ध्यान दिएको र उत्पादनलाई बजारीकरणको समस्या नहोस् भनेर आफुले बजार सुनिश्चितताको पहल गरेको बताउनुभयो । स्टलमा मैवाखोलामा उत्पादन भएका मकै,भटमास,कोदो,कोदोको पिठो,बेलकुटी चामल,चौंरीको घीउ,छूर्पी,याकको सुकुटी,अकबरे सुखार्नी,गुन्द्रुक,सिन्की,बेसार,अदुवाका परिकार सहितका कृषि उपज उपलब्ध हुने छ ।