| |

अब चिनियाँ जहाज नउडाइने, निगमलाई २ अर्ब घाटा

अरुलाई पनि शेयर गरौ !

काठमाडौं, साउन ५ । नेपाल एयरलाइन्सले चीनबाट ल्याइएका ६ वटै जहाज नउडाउने भएको छ । उक्त जहाजहरु साउन १५ पछिबाट आफूसँग रहेका चिनियाँ जहाज नउडाउने निर्णय गरेको हो । यी जहाजबाट कम्पनीले कुनै पनि व्यवसायिक लाभ लिन नसकेको निष्कर्ष निकाल्दै अब सरकारले जस्तो शर्त राखे पनि जहाज उडाउन नसक्ने निष्कर्षमा पुगेको नेपाल एयरलाइन्स सञ्चालक समितिका एक सदस्यले बताए । चिनियाँ जहाजले नेपाल एयरलाइन्सलाई घाटा मात्र भयो भनी पटक(पटक सरकारलाई जानकारी गराएका थियौं, यसको समस्याबारे सरकार जानकार समेत छ, उनले भने,’ अब भने कुनै पनि शर्तमा यी जहाजलाई नेपाल एयरलाइन्सले चलाउन सक्ने अवस्था छैन ।’
चीनबाट २ वटा जहाज अनुदान र ४ वटा जहाज सहुलियतपूर्ण ऋण सहायतामा यी जहाज नेपाल आएका हुन् । त्यसमध्ये १७ सीट क्षमताका ४ वटा वाइ(१२ ई र ५६ सीट क्षमताका एमए(६० दुई वटा जहाज कम्पनीसँग रहेका छन् । यी जहाजको बिक्रीपछिको सेवा उपलब्ध हुन नसकेको, चीनबाहेक अन्य मुलुकमा जहाज मर्मत केन्द्र नभएको र नेपालमा भौगोलिक कारणले समेत चिनियाँ जहाजको प्रदर्शन सन्तोषजनक नभएको निष्कर्षमा नेपाल एयरलाइन्स पुगेको हो । ‘जहाज हाम्रा होइनन्, सरकारका हुन्’
नेपाल एयरलाइन्सले ६ वटा चिनियाँ जहाज नेपाल एयरलाइन्सको स्वामित्वमा नरही नेपाल सरकारको स्वामित्वमा रहेका कारण आफैं व्यवस्थापन गर्न समेत सुझाव दिएको छ । ती सदस्यका अनुसार नेपाल एयरलाइन्सलाई सरकारले उपलब्ध गराएका कारण आर्थिक जोखिम मोलैरै चलाएको भएपनि ती जहाजको स्वामित्व नेपाल सरकारकै नाममा रहन्छ । सोहीअनुसार नेपाल एयरलाइन्सले पटकपटक यी जहाजलाई उद्धार वा अन्य प्रयोजनमा प्रयोग गर्न सरकारलाई सुझाव दिएको छ ।
गत वर्ष नेपाल एयरलाइन्सको वाषिर्कोत्सव कार्यक्रममा एक कर्मचारीका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यी जहाज उद्दार प्रयोजनमा सेनालाई प्रदान गर्न सुझाव दिएका थिए ।
उनको प्रस्तावपछि प्रधानमन्त्रीले नेपाल एयरलाइन्सको चर्को आलोचना गरेका थिए । तर, कम्पनीको करीव २० वटा सञ्चालक समितिका बैठकको समीक्षाबाट यी जहाज चलाइरहँदा कम्पनीलाई निरन्तर घाटा मात्र हुने हुँदा थप घाटा बेहोर्नुको साटो नचलाउने निर्णय लिएको हो ।
वाषिर्क ५० करोड घाटा
नेपाल एयरलाइन्सले निकालेको हिसावअनुसार ६ वटा चिनियाँ जहाजलाई संचालनको स्वामित्व लिँदा मात्र पनि वाषिर्क ५० करोड रुपैयाँ खर्च हुने गरेको छ । तर, यसले कम्पनीलाई कमाएर फिर्ता दिन सकेको छैन । ‘यस अवस्थामा यी जहाज नचलाउने निर्णय लिँदा मात्र पनि कर्मचारीलाई तलव खुवाउन सक्ने बराबरको खर्च बचत हुने देखियो,’ ती सञ्चालक समिति सदस्यले भने ।
जहाजको बीमा शूल्क, क्रु खर्च, नियमित मर्मत सम्भार र विभिन्न प्रकारका शूल्क तिर्न मात्र यो रकम खर्च हुने गरेको छ । आकस्मिक रुपमा आउने समस्यामा अझ ठूलो खर्च हुने गर्छ ।
एउटा मात्र उडानयोग्य अवस्थामा
६ वटा चिनियाँ जहाजमध्ये अहिले कम्पनीसँग उडानयोग्य अवस्थामा एउटा मात्र छ । ४ वटा जहाज विभिन्न समस्याका कारण ग्राउण्डेड छन् । एउटा जहाज नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा चिप्लिएको थियो । यो पूर्णरुपमा क्षतिग्रस्त रहेको छ । अहिले एउटा जहाजलाई पाइलटहरुले आफ्नो लाइसेन्सको अवधि कायम राखिराख्न उडाइरहेका छन् ।
अब चिनियाँ जहाज उडाउने पाइलट र यसमा खटिएका इन्जिनियरहरुको समेत करार नवीकरण हुने छैन । ति कर्मचारीको व्यवस्थापनका विषयमा कम्पनीले निर्णय लिने निर्णय समेत भएको छ ।
आन्तरिक उडानअब शून्य
नेपाल एयरलाइन्ससँग आन्तरिक उडानमा ९ वटा जहाज छन् । तर, सबै जसो जहाज कुनै न कुनै समस्याका कारण ग्राउण्डेड छन् । यसले आन्तरिक उडानमा अब नेपाल एयरलाइन्सको उपस्थिति करीव शून्यमा झरेको छ । किनकी भएका जहाजलाई मर्मत गरेर चलाउन कम्पनीले ठूलो लगानी गर्नुपर्छ । चिनियाँ जहाजबाहेक एक मात्र ट्वीनअटर जहाजले आन्तरिक उडान गर्छ । कम्पनीसँग भएका ट्वीनअटर जहाज पनि निकै पुराना जहाज हुन् । सोहीकारण ग्राउन्डेडको दर धेरै छ ।
चिनियाँ जहाज नउडाएपछि यसले आन्तरिक उडानमा पर्ने प्रभाव अध्ययन गरी पुनः सेवा सञ्चालन गर्न आन्तरिक उडानतर्फको विजनेस प्लान बनाउने निर्णय समेत नेपाल एयरलाइन्सको सञ्चालक समिति बैठकले गरेको हो ।
६ अर्ब लगानी, २ अर्ब नोक्सानी
नेपाल सरकारले चार वटा चिनियाँ जहाज खरीद गर्न करीव ६ अर्ब रुपैयाँ लगानी गरेको छ । यो रकम नेपाल एयरलाइन्सले भुक्तान गर्नु पर्दैन । सरकारले आफैले खरीद गरेकाले अर्थ मन्त्रालयले चिनियाँ एक्जिम बैंकलाई भुक्तान गर्छ ।
जहाज आइसकेपछिको पहिलो तीन वर्ष साँवा ब्याज तिर्नु नपर्ने प्रावधान थिया । त्यो अवधि पुरा भएको छ । गत डिसेम्बरयता सरकारले चिनियाँ एक्जिम बैंकलाई यी जहाज खरीद गरेवापत साँवाब्याज भुक्तान गर्नुपर्छ । सरकारले ६ अर्ब लगानी गरेको यी जहाजमा आर्थिक वर्ष २०७५र७६ सम्म मात्र १ अर्ब ९० करोड रुपैयाँको नोक्सानी नेपाल एयरलाइन्सले बेहोरेको छ । सोहीकारण जहाज अब पनि चलाइरहे आर्थिक रुपमा धान्न नसक्ने निष्कर्षमा कम्पनी पुगेको हो । २०७१र७२ मा बाट यी जहाज नेपाल ल्याउन थालिएको हो । दुई वर्ष भित्र ६ वटै जहाजको डेलिभरी भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts