| | |

एमाले फुङ्लिङको उम्मेदवार विवाद उत्कर्षमा, मेयरका उम्मेदवार बनाइएका प्याकुरेललाई कारबाही गर्न माग

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख ११ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा नेकपा एमालेको उम्मेदवार विवाद उत्कर्षमा पुगेको छ । उम्मेदवारी (मनोनयन) दर्ता गर्ने समय एकदिन बाँकी छँदा मेयर पदको दावी गर्दै आएका असन्तुष्ट पक्षले मेयरको उम्मेदवार बनाइएका छत्रपति प्याकुरेललाई कारबारी गरी अर्को उम्मेदवार चयन गर्नुपर्ने माग गरेका छन् ।
आइतबार सदरमुकाम फुङ्लिङस्थित नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलन गरी मेयर पदको टिकट नपाएर असन्तुष्ट बनेका सन्तोष खतिवडा, भरतकुमार गुरुङ र हेमन्तकुमार उप्रेतीले प्याकुरेललाई कारबाही गर्नुपर्ने माग गर्नुभएको छ । खतिवडा एमाले जिल्ला कमिटी उपाध्यक्ष, गुरुङ नगरकमिटी अध्यक्ष र उप्रेती प्रदेश १ कमिटी सदस्य हुनुहुन्छ ।
उहाँहरुले संयुक्त रुपमा जिल्ला कमिटी अध्यक्षलाई निवेदन दिँदै वर्तमान फुङ्लिङ नगरपालिका मेयरसमेत रहनुभएका प्याकुरेललाई तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा आफू मात्र निर्वाचित हुनेगरी पार्टीको हित तथा जनभावना विपरीत अराजक र मनोमानी ढंगबाट काम गर्ने व्यक्तिलाई पुनः पनि २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मेयर पदको टिकट दिनु बिडम्बना भएको निवेदन पत्रमा उल्लेख गरिएको छ ।
अघिल्लो निर्वाचनमा आफ्नै पार्टीकी उपमेयरको उम्मेदवार बिमला सेनेहाङ सुब्बालाई पराजित गर्न तत्कालीन राप्रपाका उम्मेदवार अमिर मादेनसँग प्याकुरेलले आपसी सहयोग गरागर गर्ने अपवित्र सहमति गरेको आरोपसमेत खतिवडा, गुरुङ र उप्रेतीले लगाउनुभएको छ । उहाँहरुले त्यसबेला प्याकुरेल र मादेनबीच भएको सहमति पत्रको प्रतिलिपिसमेत सार्वजनिक गर्नुभएको छ ।
यस्तै मेयर पदमा निर्वाचित भएपछि पार्टीसँग कुनै समन्वय र सम्पर्क नगरी आफूखुशी योजना बनाई कार्य गरेकाले फुङ्लिङमा एमालेलाई तहसनहस बनाएको पनि उहाँहरुले बताउनुभएको छ । विभिन्न योजनामा सहयोग नगरेको, कतिपय योजनाप्रति बेवास्ता गरी करोडौं रकमहरु फ्रिज गराएकोसमेत उल्लेख गरेका छन् ।
यसरी उहाँहरुले यस किसिमको पार्टीलाई क्षति पुग्नेगरी अपवित्र र अराजक कार्य गर्ने प्याकुरेललाई पुनः मेयर पदको टिकट दिएकोमा घोर आपत्ति जनाउँदै निजलाई यथाशिघ्र कारबाही गरी मेयर पदको उम्मेदवारसमेत रद्द गरेर आकाँक्षीमध्येका एकजनालाई मनोनयन गर्न पनि माग गर्नुभएको छ । उहाँले गर्नुभएको कुकृत्यको स-प्रमाणसहित आफूहरुले पेश गरेको निवेदन र मागउपर सुनुवाई नभएमा तथा बेवास्ता गरिएमा उत्पन्न हुनसक्ने परिणामप्रति आफूहरु जिम्मेवार नहुने पनि प्रष्ट्याइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts