ताप्लेजुङमा आर्युवेदका दुई औषधालय र चार आरोग्य सेवा केन्द्रले एकबर्षमा दिए १० हजार बढीलाई सेवा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २४ । आयुर्वेद सेवा प्रदान गर्ने ताप्लेजुङका २ औषधालय ४ पालिकामा रहेका नागरिक आरोग्य सेवा केन्द्रले आर्थिक बर्ष २०८१।८२ मा १० हजार बढी नागरिकलाई सेवा प्रदान गरेका छन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङले सोमवार फुङलिङमा आयोजना गरेको कार्यक्रममा उक्त निकायबाट १० हजार ३ सय ४५ जनाले सेवा लिएको बताईएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङका प्रमुख अजयकुमार झाका अनुसार ताप्लेजुङमा अहिले मैवाखोला गाउँपालिका र मेरिङदेन गाउँपालिकामा आर्युवेद औषधालय रहेका छन् । पाथीभरा याङवरकको थेचम्बु,सिदिङ्वाको साब्लाखु,आठराई त्रिबेणीको हाङपाङ र मिक्वाखोलाको साँवामा नागरिक आरोग्य सेवा केन्द्र रहेका छन् । फुङलिङ नगरपालिकामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत सेवा प्रवाह हुने गरेको छ । यसो हुँदा फक्ताङलुङ गाउँपालिका र सिरिजङ्गा गाउँपालिकामा मात्र आर्युवेद स्वास्थ्य सेवा पालिका स्तरबाटै प्रवाह हुन नसकेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङका प्रमुख झाले जानकारी दिनुभयो ।

आर्युवेद औषधालय मैवाखोलाका प्रमुख सुवासचन्द्र झाका अनुसार आव २०८१।८२ मा ३ हजार ६४ जनाले ओपिडी सेवा लिएका छन् । उक्त आवमा आर्युवेद औषधालय मेरिङदेनबाट १ हजार ५ सय ५२ जनाले सेवा लिएको औषधालयका प्रमुख रत्नेश्वरप्रसाद यादवले जानकारी दिनुभयो । आठराई त्रिबेणी गाउँपालिकाका नागरिक आरोग्य सहजकर्ता ध्यानकुमारी मगरका अनुसार आव २०८१।८२ मा १ हजार ५ सय ७५ जनाले सेवा लिएका छन् । मिक्वाखोलामा रहेको नागरिक आरोग्य सेवा केन्द्रमा कार्यरत सरस्वती चौधरीका अनुसार उक्त आवमा १ हजार ३ सय ९६ जनाले सेवा लिएका छन् । नागरिक आरोग्य सेवा केन्द्र सिदिङ्वाका आरोग्य सहजकर्ता अजितकुमार चौधरीका अनुसार त्यहाँबाट आव २०८१।८२ मा १ हजार ४ सय ६३ जनाले सेवा लिएका छन् । पाथीभरा याङवरकमा रहेको नागरिक आरोग्य सेवा केन्द्रमार्फत उक्त आवमा १ हजार २ सय ९५ जनाले सेवा लिएको उक्त केन्द्रका सहजकर्ता बिनोदकुमार यादवले जानकारी दिनुभयो ।

स्वस्थ्य नागरिक,स्वस्थ्य समाज र स्वस्थ्य जीवनको अवधारणालाई कार्यान्वयनमा ल्याउन टोल–टोलमा नागरिक आरोग्य केन्द्र सञ्चालन गर्ने सरकारको नीति अनुरुप नेपाल सरकार स्वास्थ्य मन्त्रालयले नागरिक आरोग्य कार्यक्रम सञ्चालन निर्देशिका २०७६ लागु गरी कार्यान्वयनमा ल्याएको छ । नागरिक आरोग्य सेवा केन्द्रका सहजकर्ताहरुले नागरिक आरोग्य अभियान्ताको रुपमा काम गर्नुपर्ने निर्देशिकाले भनेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङका प्रमुख अजयकुमार झाले आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत पञ्चकर्म सहितका सुविधा प्रदान भइरहेको जानकारी दिनुभयो । नागरिकलाई स्वस्थ्य र सुरक्षित राख्न पैरवी गर्नेदेखि आर्युवेद उपचारमा संलग्न गराउनुसम्मका कामहरु नागरिक आरोग्य अभियान्ताले गर्नेछन् ।

बार्षिक समिक्षा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा,प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँ र जिल्ला रेडक्रस सोसाईटीका सभापति इन्द्रबहादुर मेघी गुरुङले आर्युवेद स्वास्थ्य सेवाको थप प्रभावकारिताका लागि आगामी दिनमा चाल्नुपर्ने बिभिन्न कदमका बारेमा सुझाव प्रस्तुत गर्नुभयो । जिसस प्रमुख लामाले आफ्नै भवन समेत नभएर सेवा दिन कठिनाई भइरहेको जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि जग्गाको खोजी भइरहेकोले यस कार्यमा सघाउन सबैको सहयोगको याचना समेत गर्नुभयो

Similar Posts