प्रेस चौतारी ताप्लेजुङद्धारा स्थापना दिवसमा तीन पत्रकार पुरस्कृत,एकपत्रकारलाई सम्मान

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ २२ । प्रेस चौतारी नेपाल ताप्लेजुङले प्रेस चौतारीको २७ औं स्थापना दिवसको अवसर पारेर तीनजना पत्रकारलाई पुरस्कृत तथा एकजना पत्रकारलाई सम्मान गरेको छ ।
प्रेस चौतारी नेपाल ताप्लेजुङका अध्यक्ष बसन्त पालुङ्वाका अनुसार स्थापना दिवसको अवसरलाई ४ पत्रकारलाई पुरस्कृत तथा सम्मान गरिएको हो । पालुङ्वाका अनुसार १० हजार १ सय ५ रुपैयाँ राशीको जयमति–कर्णबहादुर पत्रकारिता पुरस्कार प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठलाई प्रदान गरिएको छ । यातायात बन्दका कारण कार्यक्रममा उपस्थित हुन नसक्नु भएका पत्रकार श्रेष्ठको सम्मान उहाँकी आमाले ग्रहण गर्नु भएको छ । श्रेष्ठ वेलकम खबर अनलाइनका सञ्चालक हुनुहुन्छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं १ ढुङ्गेसाँघु पुख्र्यौली घर भइ हाल काठमाडौंमा रहेर बैदेशिक रोजगार व्यवसायमा आबद्ध बलबहादुर तामाङले आफ्नी आमा जयमति तथा बुबा कर्णबहादुरको सम्मानमा प्रेस चौतारी नेपाल ताप्लेजुङमा अक्षयकोष स्थापना गर्नु भएको हो । सोहि अक्षयकोषमार्फत जयमति–कर्णबहादुर पत्रकारिता पुरस्कार बितरण गरिएको छ । अक्षयकोषका संरक्षक तामाङ बैदेशिक रोजगार व्यवसायी संघका पूर्व केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ । सम्मान बितरण कार्यक्रममा उपस्थित हुन नसकेका बलबहादुरले टेलिफोनमार्फत प्रेस चौतारीको स्थापना दिवस तथा सम्मानित पत्रकारलाई शुभकामना दिनुभयो ।
१० हजार १ सय ५ रुपैयाँ राशीकै भीमादेवी–अग्निप्रसाद पत्रकारिता पुरस्कार प्रेस चौतारी नेपाल ताप्लेजुङका उपाध्यक्ष तथा पत्रकार महासंघ ताप्लेजुङका कोषाध्यक्ष मदन गौतमलाई प्रदान गरिएको छ । गौतम रेडियो ताप्लेजुङमा आवद्ध हुनुहुन्छ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा पुख्र्यौली घर भइ हाल काठमाडौंमा रहेर पर्यटन व्यवसायमा जमेका ईश्वरी पौडेलले आमा भीमादेवी र बुबा अग्निप्रसादको सम्मानमा उक्त पुरस्कार स्थापना गर्नु भएको हो । पौडेलले यो पुरस्कारका लागि प्रेस चौतारी नेपाल ताप्लेजुङमा अक्षयकोष स्थापना गर्नु भएको छ ।
प्रेस चौतारी नेपाल ताप्लेजुङको आफ्नै स्रोतबाट व्यवस्थापन भएको प्रेस चौतारी नेपाल पत्रकारिता पुरस्कार पत्रकार लोकेश लिवाङलाई दिईएको छ । १० हजार १ सय ५ रुपैयाँ राशीको उक्त पुरस्कार प्रेस चौतारी नेपाल ताप्लेजुङले चौतारीइतर संगठनका सक्रिय पत्रकारलाई बितरण गर्दै आईरहेको छ । प्रेस सेन्टरमा आबद्ध लिवाङ रेडियो कावेलीमा कार्यरत हुनुहुन्छ । उहाँको अनुपस्थितमा यो पुरस्कार रेडियो काबेलीका सञ्चारकर्मी शंकर शेर्पाले ग्रहण गर्नु भएको छ ।
प्रेस चौतारी ताप्लेजुङले पत्रकार महासंघ ताप्लेजुङको अध्यक्षमा निर्वाचित सुवास आचार्यलाई समेत स्थापना दिवसकै अवसरमा सम्मान गरेको छ । आचार्य प्रेस चौतारी नेपालका केन्द्रीय महाधिबेशन प्रतिनिधि हुनुहुन्छ । एमाले पोलिटब्यूरो सदस्य तथा प्रदेशसभा सांसद तिलकुमार मेन्याङ्वो,प्रेस चौतारीका केन्द्रीय सदस्य खगेन्द्र अधिकारी,पत्रकार महासंघका केन्द्रीय सदस्य माला पालुङ्वा,प्रेस चौतारीका कोशी प्रदेश समिति सदस्य केशवप्रसाद भट्टराई सहित,प्रेस चौतारीका जिल्ला अध्यक्ष पालुङ्वाले उक्त पुरस्कार तथा सम्मानपत्र हस्तान्तरण गर्नु भएको छ ।