सुकेटार विमानस्थलमा तीन सातापछि उडान सुचारु
–उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख २ । ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन सातापछि उडान सुचारु भएको छ । प्रतिकुल मौसमका कारण अवरुद्ध बनेको उडान तीन सातापछि शुक्रबारदेखि सुचारु भएको हो ।
बाक्लो तुँवालो (हुस्सु) का कारण सुकेटार विमानस्थलमा पछिल्लो तीन सातायता लगातार उडान अवरुद्ध हुँदै आएको थियो । शुक्रबारदेखि मौसममा सुधार आएसँगै उडान सुरु भएको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बूले बताउनुभयो । लामो समयसम्म अवरुद्ध बनेको उडान सुचारु भएसँगै शुक्रबार एकैदिन काठमाडौं–ताप्लेजुङ तीन उडान भएको लिम्बूले जानकारी दिनुभयो ।
हालको पर्यटकीय मौसममा लगातार उडान अवरुद्ध हुदाँ विदेशी पर्यटकसहितका यात्रु मारमा पर्दै आएका थिए । क्रमिक रुपमा मौसममा सुधार आउन थालेकाले अब तालिकाअनुसार नियमित उडान हुने स्टेसन इन्चार्ज लिम्बूले बताउनुभयो । निगमकाअनुसार मौसम प्रतिकुल भएपछि आठ उडान अवरुद्ध हुन पुगेको थियो ।
करिव तीन सातासम्म उडान अवरुद्ध भएपछि काठमाडौंका लागि टिकट बुकिङ गरेका यात्रुहरु विमानस्थल पुग्दै फर्कने गरेका थिए । हरेक दिन (उडान हुने दिन) यात्रु विमानस्थलमा पुगेर एक÷डेढ घण्टा जहाज पर्खंदै उडान रद्द भएको जानकारी लिँदै फर्कने गरेका थिए । उडान अवरुद्ध हुँदा कञ्चनजङ्घाको भ्रमणमा आएका विदेशी पर्यटकसमेत प्रभावित बनेका थिए । हाल पर्यटकीय मौसम भएकाले यात्रुको अत्यधिक चाप रहेको निगमले जनाएको छ ।
नेपाल वायुसेवा निगमले सुकेटर विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन काठमाडौं–ताप्लेजुङ सीधा उडान सञ्चालन गर्ने गरेको छ । सुकेटार विमानस्थल दुईहजार ४०० मिटरको उचाइमा रहेकाले हुस्सुसहित मौसम प्रतिकुल भएमा उडान प्रभावित हुने गरेको छ ।