पाथीभरा याङवरकद्धारा ६ बिधाका खेल प्रशिक्षकलाई सेवा करारमा लिने तयारी,मागियो आबेदन
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ३१ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डलाई मध्यनजर गर्दै ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले ६ बिधाका खेल प्रशिक्षकलाई तीन महिनाका लागि सेवा करारमा लिने भएको छ ।
पालिकाका शिक्षा अधिकृत(सातौं)ठाकुर प्रधानका अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले असोज १४ भित्रमा पालिकामा आबेदन दिईसक्नुपर्ने छ । पालिकाले भलिबल,कवड्डी,एथलेटिक्स,कराँते,तेक्वादो र उसु बिधाका खेल प्रशिक्षकलाई सेवा करारमा लिने भएको हो । पालिकाले नेपाली नागरिक,२१ बर्ष पूरा भई ४५ बर्ष ननाघेको,निरोगिताको प्रमाणपत्र भएको,सम्वन्धित खेल विधामा खेल प्रशिक्षकको तालिम लिएको हुनुपर्ने अनिवार्य सर्त राखेको छ । पाथीभरा याङवरक गाउँपालिकाका स्थायी बासिन्दालाई पालिकाले बिशेष प्राथमिकता दिने समेत जनाएको छ । पालिकाले सेवा करारमा छनौट भएकाहरुलाई पालिकाले तोके अनुसारको मासिक पारिश्रमिक उपलब्ध गराउने समेत जनाएको छ ।
पालिकाले आबेदक स्वयंले प्रमाणित गरेको नेपाली नागरिकताको प्रतिलिपि,शैक्षिक योग्यताको लब्धाङ्कपत्रको प्रतिलिपि,चारित्रिक प्रमाणपत्र,सम्वन्धित बिधाको प्रमाणपत्र र एकप्रति पासपोर्ट साइजको फोटोसहित आबेदन दिनुपर्ने जनाएको छ । यसबर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पाथीभरा याङवकरमा हुँदै छ पाथीभरा याङवरक गाउँपालिका १७ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको स्थानीय व्यवस्थापक हो । सिदिङ्वा गाउँपालिकामा सम्पन्न १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड समापनका दिन १७ औं जिल्ला स्तरीय प्रतियोगिता पाथीभरा याङवरकले गर्नेगरी पालिका अध्यक्ष केशरकुमार सुब्बाले आयोजक जिल्ला खेलकुद विकास समितिका तत्कालिन अध्यक्ष नरेन्द्रकुमार(गणेश)मावो लिम्बूबाट खेलकुदको झण्डा ग्रहण गर्नु भएको थियो ।