ताप्लेजुङमा करिव ९० हजार मतदाता,१ सय २२ मतदान केन्द्र कायम

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १४ । ताप्लेजुङमा २०७९ साल बैशाख २९ गते सम्म १८ बर्ष पूरा भएका वालिग मतदाताको संख्या ८९ हजार ६ सय ८० कायम भएको छ । यो २०७४ सालको स्थानीय तहको निर्वाचनमा भन्दा १८ हजार ९ सय २ ले बढी हो । उतिबेला ७० हजार ७ सय ७८ जना मतदाता रहेका थिए ।

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार आउँदो स्थानीय तहको निर्वाचनका लागि यहाँ ४७ हजार ६ सय ५५ पुरुष र ४२ हजार २५ जना महिला मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ताप्लेजुङका ९ स्थानीय तहमा सबैभन्दा बढी मतदाता फुङलिङ नगरपालिकामा रहेका छन् । फुङ्लिङमा १७ हजार २ सय २ जना मतदाता रहेका छन् । यस्तै सिरिजङ्गा गाउँपालिकामा ११ हजार ६ सय ५९,पाथीभरा याङ्वरक गाउँपालिकामा ९ हजार ९ सय ४१ जना,आठराइ त्रिबेणी गाउँपालिकामा ९ हजार ७ सय ४३ जना र सिदिङ्वा गाउँपालिकामा ८ हजार ८ सय ७८ जना मतदाता रहेका छन् ।

यस्तै फक्ताङ्लुङ गाउँपालिकामा ८ हजार ८ सय ९० जना,मेरिङ्देन गाउँपालिकामा ८ हजार ६ सय ३ जना,मैवाखोला गाउँपालिकामा ७ हजार ७ सय ९७ जना र मिक्वाखोला गाउँपालिकामा ६ हजार ९ सय ६७ जना मतदाता रहेका छन् । ताप्लेजुङका सबै स्थानीय तहमा महिला तथा पुरुष मतदाता बढी देखिएका छन् । फुङ्लिङ नगरपालिकामा महिला र पुरुष मतदाता हाराहारी रहेपनि अन्य सबै पालिकामा पुरुष मतदाता बढी देखिएका छन् ।
१ सय २२ वटा मतदान केन्द्र कायम
२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भन्दा आउँदो बैशाखमा हुने निर्वाचनमा ताप्लेजुङमा १७ वटा मतदान केन्द्र थप भएको छ । करिव २० हजार मतदाता थप भएको अवस्थामा पहिले भन्दा १७ वटा मतदान केन्द्र थप भएको हो । स्थानीय तहको निर्वाचनका लागि १ सय २२ मतदान केन्द्रको कायम भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ७३ मतदान स्थल र १ सय ५ मतदान केन्द्र थिए ।

२०७४ सालमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा भने १ सय १४ मतदान केन्द्र थिए । आठराइ त्रिबेणीमा १० मतदान केन्द्र रहेकोमा अहिले १२ मतदान केन्द्र कायम भएका छन् । फक्ताङ्लुङ र सिदिङ्वा गाउँपालिकामा भने साविककै क्रमशः १५ र १३ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले जानकारी दिनुभयो ।

फुङ्लिङ नगरपालिकामा यसअघि १७ मतदान केन्द्र रहेकोमा अहिले ३ वटा बढाएर २० मतदान केन्द्र कायम भएको छ । मिक्वाखोला गाउँपालिकामा यसअघि ७ मतदान केन्द्र भएकोमा अहिले १० र मेरिङदेन गाउँपालिकामा यसअघि १० मतदान केन्द्र रहेकोमा अहिले ११ मतदान केन्द्र कायम भएको छ । यसअघि ९–९ मतदान केन्द्र मैवाखोला र पाथीभरा याङ्वरकमा अहिले क्रमशः १२ र १३ मतदान कायम भएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts