|

सडक सुशासन र सवारी दुर्घटना न्यूनीकरण सम्वन्धी साताब्यापी अभियान सुरु

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,पुस ४ । सडक सुशासन कायम गर्दै सवारी दुर्घटना न्यूनीकरणका लागि चेतना प्रवाह गर्न ताप्लेजुङमा आइतवारबाट सप्ताहव्यापी अभियान सुरु भएको छ ।

यो प्रदेश १ का १४ जिल्लामा एकसाथ सुरु भएको अभियान हो । प्रदेश १ को सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले देशभरका ट्राफिक प्रहरी कार्यालयमार्फत यो अभियान अघि बढाएको छ । अभियानको पहिलो दिन ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङको संयोजनमा फुङ्लिङ बजारमा चेतनामुलक प्रभातफेरी गरिएको छ । सडक सुशासन र सवारी दुर्घटना न्यूनीकरण सम्वन्धी चेतनामुलक सन्देश प्रवाह गर्दै तोक्मे बजारदेखि सुरु भएको प्रभातफेरी माथिल्लो रोडबाट बीरेन्द्र चौक हुँदै तल्लो बजार क्षेत्र परिक्रमा गरेर पुनः तोक्मेडाँडा नै फर्किएको थियो । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले ट्राफिक सप्ताहको औपचारिक कार्यक्रमको उद्घाटन गर्दै साताब्यापी अभियान उपलब्धीमुलक बनाइ सडक सुशासन कायम गर्न सबैलाइ अभियान केन्द्रित भइदिन आग्रह गर्नु भएको छ । अभियान पुस १० गते सम्म नियमित सञ्चालन हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी सहायक निरीक्षक रोहित थापाले बताउनुभयो ।

ट्राफिक सप्ताह कार्यक्रम अवधिभर सवारी चालक तथा सह–चालकलाई जनचेतना अभिवृद्धि गराउने,ट्राफिक सचेतनामूलक पर्चा तथा पम्प्लेट वितरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ । अभियानकै बेला चालकको स्वास्थ्य परीक्षण समेत गर्ने तयारी गरिएको छ । सवारी साधनमा देखिनी मेसिनरी समस्या जाँचको समेत प्रवन्ध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सवारी साधन र चालक अनुमति पत्र सहितको बिबरण खुल्ने कागजात तथा सवारीको अवस्थाको चेकजाँच समेत सडकमै गर्ने तयारी गरिएको छ । अभियानकै क्रममा सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने कुराहरूको विषयमा सडकमै प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । यस बाहेक विद्यालय सम्पर्क कार्यक्रम तथा सार्बजानिक स्थलहरूमा समेत सडक प्रयोगकर्ताहरू भेला जम्मा गरी ट्राफिक नियम सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन हुने छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)बाल नरसिंह राणाले सडक सुशासन र सवारी दुर्घटना न्यूनीकरणका लागि सप्ताहब्यापी अभियान आम नागरिकको साझा अभियान भएको बताउनुभयो । यो अभियान एउटा चेतनामुलक अभियान भएकोले यसको सफलताका लागि रहेक नागरिकले योगदान दिनुपर्ने उहाँको भनाइ थियो । सवारी दुर्घटना न्यूनीकरण सबैको साझा सरोकारको बिषय भएको समेत उहाँले दोहो¥याउनुभयो । आफुहरुले स्थानीय तहहरुसंग समेत समन्वय र सहकार्य गरेर अभियान प्रभावकारी बनाउने योजना बनाएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा फुङ्लिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल,भीमकाली गुल्मका सेनानी कौशल कार्की,सशस्त्र प्रहरी नायव उपरीक्षक रोशन बुढाथोकी,राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ताप्लेजुङका प्रमुख रमेश अधिकारी,फुङ्लिङ नगरपालिका वडा नं ५ का वडाध्यक्ष भीमादेवी ओझा,वडा नं ९ का वडाध्यक्ष तारानाथ बराल,सामुदायिक सेवा केन्द्रका अध्यक्ष भद्रकुमार बोखिम,पूर्व प्रहरी संगठनका जिल्ला अध्यक्ष बलराम भारती,ताप्लेजुङ उद्योग बाणिज्य संघ,पत्रकार महासंघ,होटल व्यवसायी महासंघका प्रतिनिधि,बिभिन्न बिद्यालयका शिक्षक तथा शिक्षक,नागरिक अगुवा सहितको सहभागिता रहेको थियो । प्रभातफेरीमा नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी,ट्राफिक प्रहरी कर्मचारी,पूर्व प्रहरी कर्मचारी तथा अक्सफोर्ड आवासीय मावि र तमोर अंग्रजी स्कुलका विद्यार्थीहरु सहभागी हुनहुन्थ्योे ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts