| |

ताप्लेजुङमा यसवर्ष समयमै पाठ्यपुस्तक आउन थाल्यो

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २३ । हिमाली जिल्ला ताप्लेजुङमा यसवर्ष सामुदायिक विद्यालयका पाठ्यपुस्तक समयमै आउन थालेको छ । स्थानीय पुस्तक तथा स्टेशनरी व्यवसायीमार्फत सामुदायिक विद्यालयको पाठ्यपुस्तक जिल्लामा भित्र्याउन थालिएको हो ।
नयाँ शैक्षिक सत्र सुरु हुनुलाई एक महिनाभन्दा बढी समय छँदै सामुदायिक विद्यालयका पाठ्यपुस्तक ल्याउन थालिएको हो । जिल्लामा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले पाठ्यपुस्तक ल्याउने गरेको छ । महासंघले यसवर्ष समयमै सामुदायिक विद्यालयका पाठ्यपुस्तकहरु ल्याउन थालेको हो ।
महासंघका जिल्ला अध्यक्ष ज्ञानप्रसाद मिश्रका अनुसार हालसम्म कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक ल्याई सकिएको छ । अध्यक्ष मिश्रले कक्षा १ देखि ४ सम्मका एक हजार ५०० सेट र कक्षा ५ को एक हजार सेट पाठ्यपुस्तक आइसकेको जानकारी दिनुभयो । उक्त कक्षाहरुको अनिवार्य विषयसँगै आःनिपान, अङ्ग्रेजी माध्यमको गणित लगायतका ऐच्छिक विषयसमेत आइसकेको उहाँले बताउनुभयो ।
यस्तै कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तक पनि फागुन मसान्तभित्र ल्याइसक्ने तयारी गरिएको मिश्रले बताउनुभयो । बर्खायाम सुरु भइसक्दा पनि पाँचथरको हेवाखोलामा मोटरेवल पुल (मोटर गुड्ने पुल) बनाई नसकिएकाले पाठ्यपुस्तक ल्याउनलाई हतार गर्नुपरेको मिश्रको भनाइ छ । ढिलो गर्दा हेवाखोलामा बाढी आएर सडक अवरुद्ध हुन गई समयमा पाठ्यपुस्तक नआएर विद्यार्थीले पढ्न नपाउने अवस्था आउनसक्ने त्रासका कारण हतार गरेको उहाँले बताउनुभयो ।
यता विगतका वर्षमा नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा अगावै विद्यालय–विद्यालयमा पाठ्यपुस्तक पु¥याउने गरिएकोमा यसवर्ष अझ सहज भएको महासंघका उपाध्यक्ष केशवप्रसाद भट्टराईले बताउनुभयो । सडक अवरुद्ध हुनसक्ने त्रासकै कारण यस वर्ष महासङ्घले समयमै आर्थिक व्यवस्थापन गरी पाठ्यपुस्तक ल्याउन थालिएको भट्टराईले बतानुभयो ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड विराटनगरबाट सामुदायिक विद्यालयका पाठ्यपुस्तक ल्याउने गरेको छ । ताप्लेजुङमा हाल ३३० वटा सामुदायिक विद्यालय रहेका छन् । शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका अनुसार उक्त सङ्ख्यामध्ये ६४ वटा माध्यमिक तहका विद्यालय छन् । अन्य १–३, १–५ र १–८ कक्षा सञ्चालित आधारभूत तहका विद्यालय रहेका रहेका छन् । यस्तै सामुदायिक विद्यालयमा करिव २० हजार विद्यार्थी अध्ययनरत रहेका पनि शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

Similar Posts