तोक्पेगोलाको हेबेन खोलामा काठेपुल बनेपछि सहज
उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ २९ । ताप्लेजुङको हिमाली बस्ती तोक्पेगोला क्षेत्रमा काठेपुल बनेपछि मानिस तथा पशुचौपायालाई ओहोरदोहोर गर्नमा सहज भएको छ । मिक्वाखोला गाउँपालिका वडा नं. ५ पापुङको तोक्पेगोलास्थित हेबेन खोलामा काठेपुल निर्माण गरेपछि ओहोरदोहोरमा सहज भएको हो ।
करिव तीन हजार ७५० मिटरको उचाइमा रहेको तोक्पेगोला एक पर्यटकीय क्षेत्र साथै घाँसे मैदानसहित चरन क्षेत्रको रुपमा रहेको छ । तोक्पेगोलामा बसोबास गर्ने एक दर्जन बढी सबै परिवार पशुपालन पेशामा आवद्ध रहँदै आएका छन् । तोक्पे बस्ती र घाँसेमैदान खर्क जोड्नेगरी हेबेन खोलामा बनेको काठेपुलले पशुपालन पेशामा संलग्न रहेका तोक्पेगोलाका बासिन्दालाई ठूलो राहत पुगेको बताइएको छ ।
पशुपालन पेशाअन्तर्गत चौंरी र याक पाल्दै आएका तोक्पेगोलाका किसानलाई याक तथा चौंरी हिडाउनलाई सहज भएको पापुङका स्थानीय पासाङ शेर्पाले बताउनुभयो । पापुङका निर्वाचित वडा सदस्यसमेत रहनुभएका शेर्पाका अनुसार स्थानीय बासिन्दा र तोक्पेगोला क्षेत्रको भ्रमणमा जाने बाह्य तथा आन्तरिक पर्यटकलाई समेत पुल बनेकाले सहज भएको छ ।
यस क्षेत्रमा रहेको सोदुपोखरी, भुतपोखरी लगायतका पर्यटकीय स्थलको अवलोकन साथै लोप हुन लागेको याक तथा चौंरी पालन र गोठ हेर्नका लागि आन्तरिक पर्यटकहरु तोक्पेगोला पुग्ने गर्दछन् । नगन्य सङ्ख्यामा विदेशी पर्यटक समेत तोक्पेगोला पुगेर त्यहाँको पर्यटकीय स्थल तथा मनोरम भू–दृश्यको अवलोकन गरेर फर्कने गर्दछन् । उक्त काठेपुल र पदमार्ग मर्मतसहितको कार्य सामूदायिक वन उपभोक्ता महासंघ नेपाल ताप्लेजुङले गरेको हो ।