|

फुङ्लिङमा स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन सम्वन्धी अनुशिक्षण सुरु

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस ४ । स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन सम्वन्धी २ दिने अनुशिक्षण कार्यक्रम आइतवारबाट ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा सुरु भएको छ ।

स्थानीय तहको कार्य प्रकृया र उपलब्धीहरुको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरुको पहिचान गर्न तथा विकास र सुशासनमा रहेका कमीकमजोरीहरुको जानकारी लिइ आवधिक समिक्षाको आधार प्राप्त गर्न संस्थागत क्षमता स्वमूल्याङ्कन गरिन्छ । यो प्रकृयाले प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन सहयोग गर्छ । ‘स्थानीय तहले गरेका राम्रा अभ्यास, सिकाई र उपलब्धिहरूलाई उजागर गर्दै सुशासन प्रवद्र्धन गर्न समेत यो अभियान कामयावी हुनेछ’अनुशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले भन्नुभयो । उहाँले स्वमूल्याङ्कन आफैंमा कठिन कार्य भएपनि यसबाट प्राप्त हुने नतिजाले संस्थागत क्षमताका चुनौती पहिचान गरी त्यसलाइ अवसरको रुपमा लैजान महत्वपूर्ण भूमिका प्राप्त हुने बिश्वास समेत लिनुभयो ।

अनुशिक्षण कार्यक्रमका सहजकर्ता समेत रहनु भएका जिल्ला समन्वय अधिकारी आत्मराम सत्यालले संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यले स्थानीय तहको कार्य प्रकृया र उपलब्धीका बारेमा लेखाजोखा गरी सबल र दुर्वल पक्षको पहिचान गर्न सकिने बताउनुभयो । यस्तै गाउँपालिका तथा नगरपालिकाको बीचमा तुलनायोग्य सूचक तर्जुमा गरी प्रतिश्पर्धात्मक सुधारमा अग्रसर गराउन समेत यो कार्य निकै प्रभावकारी हुने उहाँले बताउनुभयो । प्रदेश प्रशिक्षण केन्द्रका प्रतिनिधि मनोज तिमल्सिनाका अनुसार शासकीय प्रवन्ध,संगठन तथा प्रशासन,बार्षिक बजेट तथा योजना व्यवस्थापन,बित्तीय एवम् आर्थिक व्यवस्थापन,न्यायिक कार्य सम्पादन,भौतिक पूर्वाधार,सामाजिक समावेशीकरण,वातावरण संरक्षण तथा बिपद् व्यवस्थापन र तीनै तहका सरकार बीच सहकार्य र समन्वयका आधारलाइ संस्थागत क्षमता स्वमूल्याङ्कनका सर्तको रुपमा लिइन्छ ।

अनुशिक्षण पछि निर्वाचित जनप्रतिनिधि र कर्मचारीलाइ स्वमूल्याङ्कनका उद्देश्य र विधिका बारेमा जानकारी गराउने,बिषयगत क्षेत्रहरुको स्वमूल्याङ्कनका लागि स्थानीय तहका सम्वन्धित विभाग,महाशाखा र शाखालाइ सहभागी गराउने,सबै विभाग,महाशाखा र शाखाहरुसंग समन्वय गर्न प्रमुख प्रशासकीय अधिकृतले एकजना अधिकृत कर्मचारीलाइ सम्पर्क व्यक्ति तोक्ने, विभाग,महाशाखा र शाखाहरुले आफ्नो बिषयगत क्षेत्रसंग सम्वन्धित सूचकको लेखाजोखा गरी यसको नतिजा सम्पर्क व्यक्तिलाइ उपलब्ध गराउने र सम्पर्क व्यक्तिले एकिकृत रुपमा प्रारम्भिक नतिजा प्रस्तावित गरी प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने लगायतका कार्य हुनेछन् । यस्तै प्राप्त नतिजा कार्यपालिकाको बैठकमा प्रस्तुत गर्ने,नतिजाउपर सूचकगत रुपमा छलफल र बिश्लेषण गरी सम्वन्धित बिषय क्षेत्रको यर्थात अंकभार निर्धारण गर्ने,स्वमूल्याङ्कनको अन्तिम नतिजा कार्यपालिकाबाट अनुमोदन गर्ने,कार्यपालिकाले अनुमोदन गरेको ७ दिन भित्र मूल्याङ्नको नतिजा कार्यालयको वेभसाइट तथा सूचनापाटीमार्फत सार्वजनिक गर्ने र स्वमूल्याङ्नको अन्तिम नतिजाको प्रति कार्यपालिकाको बैठकबाट अनुमोदन भएको ७ दिन भित्र सम्वन्धित जिल्ला समन्वय समिति,प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघीय मामिला मन्त्रालयमा पठाउनुपर्ने कार्यविधि रहेको छ ।

स्वमूल्याङ्कनले स्थानीय तहको सुधारात्मक पक्ष तथा चुनौतीको पहिचान गर्न तथा नीतिगत कार्ययोजना तयार गरी कार्यान्वयन गर्न सघाउ पु¥याउने बताइन्छ । अनुशिक्षण कार्यक्रममा फुङलिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल,सिदिङ्वा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बू,पाथीभरा याङ्वरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरी,मैवाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापो,बिभिन्न पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत,योजना शाखाका प्रमुख,शिक्षा अधिकृत र सूचना प्रविधि क्षेत्र हेर्ने पालिकाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts