बालबालिकालाइ सापुरोगले सताउँदै,सेतो बत्तिको प्रयोग कम गर्न र साँझमा घर बाहिर ननिस्कन सुझाव

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २७ । बिद्युतको किफायतीका लागि हिजोआज सेतो चिम(बल्व) प्रयोगगर्ने हामी धेरै छौं । तर यै बल्वका कारण आँखामा लाग्ने ‘सापु’ रोगले भने सताउने गरेको चाँही धेरैलाई थाह नहुन सक्छ । नेपाल नेत्र ज्योति संघ÷डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रका इञ्चार्ज काजी गुरुङका अनुसार सेतो पुतलीले सेतो प्रकाश मन पराउँछ । पुतली लाटो हुने भएकोले जता–जता सेतो प्रकाश बलेको छ,उ त्यतै–त्यतै झुम्मिन थाल्छ । सेतो प्रकाश मन पराउने त्यो सेतो पुतलीको झुस भुवाजस्तै उड्ने भएकोले बत्ति बालेको ठाउँबाट मानिसको आँखामा झुस बिझ्न गएमा सापु रोग लाग्ने गुरुङले जानकारी दिनुभयो । नेपाल नेत्र ज्योति संघ,तेजरत्न आँखा तथा कान उपचार केन्द्र संखुवासभाका क्लिनिक इञ्चार्ज क्षितिज बरालका अनुसार सापु एक दृष्टीनाशक आँखाका रोग हो । यो रोग प्रायःबालबालिकाहरुमा बढीमा मात्रामा देखा पर्ने गर्छ । नेपालको मध्य पहाडी तथा तराइका क्षेत्रमा यो रोगको संक्रमण बढी देखा पर्ने बरालले जानकारी दिनुभयो । भदौ देखि मंसिर महिना सम्म सापु रोग बढी मात्रामा देखा पर्ने गर्छ । डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज गुरुङका अनुसार रोमनमा भनिएको‘क्ज्ब्एग्’को बिशिष्ट अर्थ छ । पहिलो अक्षरले सिजनेबल अर्थात् मौसमी,दोस्रो अक्षरले हाईपर अर्थात् धेरै,तेस्रो अक्षरले एक्युट अर्थात् तुरुन्तै,चौथो अक्षरले पान अर्थात् सबै र पाँचौंले युभिटाईज एट्याक अर्थात् सुन्निएको भागको अर्थ लाग्छ । यसमा अर्थमा रोमनमा भनिएको सापुको अर्थ मौसमी संक्रमणका कारण आँखाको पूरै भाग रातो र सुन्निएको अवस्थाको चित्रण हो । आँखा बिशेषज्ञहरुका अनुसार यो रोग लागेमा आँखाको पर्दा र नशा लगायतका भागमा असर गर्छ । पुतलीको झुस आँखामा परेको केहि घण्टाको बीचमा नै आँखाको दृष्टी कम हुँदै जाने भएकोले सजगता अपनाउनु पर्छ । आँखामा सेतो पुतलीको झुस परेको ७२ घण्टाभित्र यसको उपचार नगरे यसले आँखाको ज्योति पूर्णरुपमा बन्द समेत गराउन सक्ने गुरुङले जानकारी दिनुभयो ।‘सोच्दा सानो जस्तो भएपनि यो अत्यन्तै घातक मानिन्छ’गुरुङले भन्नुभयो । गुरुङका अनुसार यो रोग सबैभन्दा बढी पहाडी क्षेत्रका मानिसमा देखा परेको पाईन्छ । रोग देखिएका मध्ये ६५ देखि ७० प्रतिशत १६ बर्ष मुनिका बालबालिका रहेको समेत उहाँले जानकारी दिनुभयो । संख्यात्मक हिसावले करिव ७० प्रतिशत पहाडी क्षेत्रका बासिन्दा यो रोगबाट प्रभावित भएको पाईएको गुरुङले बताउनुभयो । एक्कासी एउटा आँखा रातो हुनु,चिप्रा नलाग्नु,उज्यालोमा हेर्न नसक्नु,आँखाको दृष्टीमा तत्कालै कमी हुनु र आँखाको दुखाइ बढ्दै जानु सापु रोगको लक्षण तथा चिन्हको रुपमा बुझ्न सकिन्छ । जानकारहरुका अनुसार सेतो पुतलीको झुस पर्नासाथ आँखा रातो हुने तथा चिलाउने गर्छ । त्यसपछि क्रमशःउज्यालोमा हेर्न गाह्रो हुने,केहि घण्टाको अन्तरालमै आँखाको ज्योति घट्दै जाने र आँखाको दुखाईमा घटबढ हुने जस्ता समस्याहरु देखा पर्छन् । रोगको लक्षण तथा चिन्हहरु देखा परेको २४ देखि ४८ घण्टा भित्र उपचार नपाए आँखाको दृष्टी गुम्ने वा आँखा सुकेर जाने जोखिम सापु रोगले गराउने गुरुङले जानकारी दिनुभयो । सेतो पुतलीको संसर्गबाट टाढै रहने,साँझको समयमा घर बाहिर नजाने,घरको झ्याल तथा ढोकामा जाली राख्ने,राती सुत्दा झुलको प्रयोग गर्ने,घर आँगनमा सकेसम्म सेतो बत्ति नबाल्ने र सम्भव भएसम्म पहेंलो सिएफएल चिम प्रयोग गर्ने हो भने सापु रोगबाट बच्न सकिने उहाँले जानकारी दिनुभयो । गुरुङले कुनैपनि पुतली प्रजाति छोएपछि साबुनपानीले अनिवार्य हात धुन,अनावश्यक रुपमा आँखा नछुन तथा आँखा नमिच्न र प्राथमिक उपचार स्वरुप आँखालाई सफा पानीले पखाल्न सुझाएका छन् । बाली थन्क्याउने समय र सेतो बत्ति सेतो पुतलीका लागि रोजाईमा पर्ने भएकोले आँखा जोगाउन यो बेला अरु समयभन्दा बढी सम्बेदनशील हुनुपर्ने समेत गुरुङले सुझाउनुभयो । उहाँले आँखामा समस्या देखा पर्दा माड्ने,धामी–झाँक्री लगाएर समय बर्बाद पार्ने काम नगर्न समेत आग्रह गर्नु भएको छ ।