आर्थिक बर्ष समाप्त अगावै मेरिङ्देनले उठायो लक्ष्य भन्दा सभा १३ लाख बढी राजश्व
ताप्लेजुङ,जेठ २८ । आर्थिक बर्ष समाप्त हुन एक महिना बाँकी छदैं ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले लक्ष्य भन्दा १३ लाख २६ हजार बढी रकम आन्तरिक राजश्व उठाउन सफल भएको छ । गाउँपालिकाले चालू आर्थिक बर्ष २०७८।०७९ मा १९ लाख ७५ हजार रुपैंया आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएकोमा ३३ लाख १ हजार ४ सय ३४ रुपंया आन्तरिक आम्दानी गरेको छ । यो लक्ष्य भन्दा १३ लाख २६ हजार ४ सय ३४ रुपैंया बढी हो । गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७६ अनुसार आन्तरिक आम्दानीको बिबरण सार्वजनिक गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेका अनुसार गाउँ कार्यपालिकाको कार्यालय सान्थाक्राले १० लाख १७ हजार ३० रुपैंया राजश्व संकलन गरेको छ । गाउँपालिकाले ३ लाख ७१ हजार ५ सय ५१ रुपैंया बेरुजु असुल गरेको छ ।
८ लाख १३ हजार ६ सय रुपैंया ढुङ्गा,गिटी,बालुवा ठेक्का वापत गाउँ कार्यपालिकाले राजश्व असुल गरेको छ । प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेका अनुसार बिभिन्न कर दस्तुर वापत वडा नं १ थिङ्लाबुले २ लाख ६६ हजार ८ सय ४१ रुपैंया,वडा नं २ सान्थाक्राले ३ लाख २४ हजार ५ सय ७०,वडा नं ३ खाम्लुङले ५० हजार ७ सय १०,वडा नं ४ लिङ्तेपले १ लाख २९ हजार १ सय ११,वडा नं ५ थुकिमाले ३ लाख ९ सय र वडा नं ६ नाल्बुले २७ हजार १ सय २१ रुपैंया राजश्व असुल गरेको छ ।