जिल्ला भरीका पालिका र स्वास्थ्य संस्थालाइ सुआहाराद्धारा स्वास्थ्य सामग्री बितरण,परार्मश सूचना पनि पठाइयो
ताप्लेजुङ,जेठ २८ । अमेरिकी सहयोग विकास नियोग(युएसएआइडी)को आर्थिक सहयोगमा सुआहारा दोस्रो कार्यक्रममार्फत वातावरण संरक्षण तथा विकास मञ्चले ताप्लेजुङका ९ स्थानीय सहित जिल्ला अस्पताल समेतलाइ स्वास्थ्य सामग्री बितरण गरेको छ । कोरोना महामारीका बीच सुआहारा कार्यक्रमले सुत्केरी आमा तथा २ वर्ष मुनिका बच्चा भएका एवम् कोरोना लक्षण देखिएका घरधुरीमा पोषण स्वास्थ्यका अत्यावश्यक व्यवहारहरु र कोरोना भाइरसबाट बच्न ध्यान दिनु पर्ने उपायहरुबारे निरन्तर परामर्श प्रत्येक हप्ता ४ सय बढी घरधुरीमा टेलिफोनका माध्यमबाट परार्मश सेवा सञ्चालन गरेको पनि जनाएको छ । कोभिड १९ जोखिम सञ्चार तथा सामुदायिक संलग्नता अभियानमार्फत परार्मश सेवा र स्वास्थ्य सामग्री प्रदान गरिएको सुआहारा दोस्रो कार्यक्रमका लागि ताप्लेजुङ फिल्ड संयोजक मनप्रसाद नाल्वोले जानकारी दिनुभयो । उहाँका अनुसार टेलिफोन परामर्शका क्रममा शंकास्पद लक्षण भएका ब्यक्ति बारे जानकारी पाए परीक्षणका लागि परामर्शका दिने र उनीहरुको अवस्था बारे स्थानीय निकायलाइ अवगत गराउने कार्य पनि भएका छन् । हजार दिने आमा तथा परिवारमा ८ हजार ६ सय ४७ वटा मोवाइल म्यासेज SMS मार्फत परामर्श सूचनाहरु पठाइएको समेत नाल्बोले जानकारी दिनुभयो । स्थानीय तहहरुले सञ्चालन गर्ने वार्षिक कार्यक्रम एवं बहुक्षेत्रीय पोषण योजना अन्तर्गत समावेश गरेका पोषण क्रियाकलापहरु सञ्चालन गर्न सुआहारा दोस्रो कार्यक्रमले स्थानीय तहलाइ नियमित रुपमा प्राविधिक सहयोग र सहजीकरण गरिररहेको समेत उहाँले बताउनुभयो । यस्तै कोभिड संक्रमण भएका सदस्यले अपनाउनुपर्ने रणनीति र सावधानीका उपाय,परिवारका सदस्यले अपनाउनुपर्ने सावधानी,छिमेकी र आफन्तले खेल्नुपर्ने भूमिका र सावधानीका केन्द्रित जानकारीमूलक पर्चा र फ्लेक्स प्रिन्ट सामग्री समेत बितरण गरिएको नाल्बोले जानकारी दिनुभयो । सुआहाराले पालिकाका महिला स्वासथ्य स्वयंसेविकाका लागि सर्जिकल मास्क र स्यानीटाइजर तथा पालिकामा रहेका स्वास्थ्य संस्थाको लागि सर्जिकल मास्क,स्यानीटाइजर,पीपीइ गाउन,केएन–९५ मास्क,पञ्जा,फेस सिल्ड,रबर बुट,हेड कभर र बुट कभर सहितका सामग्री बितरण गरेको समेत नाल्बोले जानकारी दिनुभयो । पालिकाका महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य संस्थाका अतिरिक्त सुहाआरा कार्यक्रमले ताप्लेजुङ जिल्ला अस्पताल समेतलाइ स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको समेत नाल्बोले जानकारी दिनुभयो । यसअघि ताप्लेजुङ जिल्लाका सबै स्थानीय तहमा रहेका बर्थिङ सेन्टरमा ५ हजार थान फेस सिल्ड बितरण गरेको सुआहारा कार्यक्रमले कोभिड प्रतिकार्यका लागि जिल्ला भरका स्वास्थ्य चौकी र महिला स्वास्थ्य स्वयंसेसिवकालाइ लक्षित गरी पीपीइ,सर्जिकल मास्क र स्यानीटाइजर सहितका सामग्री उपलब्ध गराएको थियो ।