| |

ताप्लेजुङका युवा संगठनहरुद्वारा संसद विघटनको विरोध

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ १० ।
प्रतिनिधि सभा विघटन र मध्यावधि चुनाव घोषणा गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध देशभर विरोध हुँदै आइरहेको बेला ताप्लेजुङका युवा संगठनहरुले पनि विरोध जनाएका छन् । सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल तरुण दल, वाइसिएल नेपाल, युवा संघ नेपाल र समाजवादी युवा संघले मध्यराती संसद भंग गरेर आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गर्नु असंवैधानिक कदम भएकोभन्दै विरोध जनाएका हुन् ।
तरुण दलका जिल्ला अध्यक्ष खगेनसिंह हाङ्गाम, वाइसीएलका जिल्ला अध्यक्ष सुजन सामेखाम, युवा संघका केन्द्रीय सदस्य ज्ञानु लावती र समाजवादी युवा संघका जिल्ला कार्यबाहक अध्यक्ष राजु थाम्सुहाङले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीको कदम अलोकतान्त्रिक र असंवैधानिक भएको जनाएका छन् ।
युवा संगठनहरुद्वारा जारी विज्ञप्तिमा संसदको विघटनले संविधानमाथि प्रहार भएको र सरकार स्वेच्छाचारी, निरंकुश अधिनायकवादी बनेको उल्लेख गरिएको छ । संसदीय मूल्य, मान्यता र परम्परालाई तिलाञ्जली दिँदै प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गर्नु लोकतन्त्र र संविधानको ठाडो उल्लंघन भएको युवाहरुले बताएका छन् ।
यतिबेला विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणमा ध्यान नदिई अस्पताल बेड, अक्सिजन, औषधिको हाहाकार भइरहेको अवस्थामा मध्यावधि निर्वाचन घोषणा गरेर जनताको स्वास्थ्यमाथि खेलवाड गरिएको र सरकार जनताप्रति गैरजिम्मेवार भएको युवाहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् । संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेर गैर संवैधानिक कदम चाल्दै सरकारले जनताको स्वास्थ्यमाथि गरेको खेलवाड र अपराधविरुद्ध एकजुट भई आम युवा, विद्यार्थी, बुद्धिजीवी र जनसमुदायलाई प्रतिरोधमा उत्रन विज्ञप्तिमार्फत अपिल पनि गरिएको छ । आइतबार मात्रै नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमाले (माधव पक्ष) र जनता समाजवादी पार्टीले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै संसद विघटनको विरोध जनाएका थिए ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts