कोरोनाबाट नेपालमा ५२औं मृत्यु ः विरामी भएर भारतबाट आएको पत्तै भएन
विराटनगर,साउन १५ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा ज्यान गुमाएका कोभिड(१९ संक्रमित केही दिन अघि भारतबाट आएको खुलेको छ । कोरोना सक्रमण पुष्टि भएपछि कोशी अस्पताल विराटनगरले गम्भिर अवस्थाका मोरङ सुनबर्सी नगरपालिका वडा नं ८ सिक्टीका ४५ वर्षीय पुरुषलाई धरान रिफर गरिएको थियो । दिउँसो धरान पुगेका पुरुषको बेलुका पौने ५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।
पहिलो आउँदा क्वारेन्टाइन,दोस्रो पटक सिधै घर
सुनबर्सी नगरपालिका मेयर कालिप्रसाद दासकाअनुसार मृतक पुरुषको ससुराली घर भारतको बिहारमा पर्छ । उहाँ हालै भारतबाट विरामी अवस्थामा घर फर्किनु भएको थियो । तर उहाँ भारतबाट आएर घरमा बसेको जानकारी स्थानीय प्रशासनले नपाएको दासले बताउनुभयो । दुई महिना अघि भारतबाट फर्किदा क्वारेन्टिनमा बस्नु भएका उहाँ दोस्रो पटक र्फकदा भने कसैले जानकारी पाएका थिएन् । ‘८ दिन अघि भारतबाट आएका रहेछन्’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले भन्नुभयो । स्वास्थ्यमा गम्भिर समस्या भएपछि मंगलबार कोशी अस्पताल, विराटनगर पुग्नु भएको थियो । ‘फिबर क्लिनिक आएपछि आइसोलेसनमा भर्ना गरेर स्वाब संकलन गर्न लगाएको थियो’ अस्पतालका सिनियर फिजिसिन डाक्टर दीपक सिग्देलले भन्नुभयो ‘विरामीको अवस्था गम्भिर थियो, रिपोर्ट पोजेटिभ आएले धरान रिफर गरिएको हो ।’