| |

रुख कटान नियन्त्रणमा सिरिजङ्घाको प्रयास,अब वन कार्यालयले समेत पालिकाको सिफारिसका आधारमा मात्र कटान अनुमति दिनुपर्ने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,१८ बैशाख । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पालिका भित्र कुन–कुन व्यक्ति वा संस्थाले कति संख्यामा रुख कटानको अनुमति लिए भनेर डिभिजन वन कार्यालयसंग त्यसको बिबरण माग गर्ने भएको छ । जथाभावी रुख कटान गर्दा पालिका क्षेत्र भित्रको वातावरण सन्तुलनमा प्रतिकुल असर परेको एवम् रुख कटान सिफारिस दस्तुरवापत गाउँपालिकाले प्राप्त गर्नुपर्ने राजश्व समेत नबुझाएको अवस्था पाएपछि यस्तो बिबरण लिन लागिएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार अनुमतिमा उल्लेखित संख्या भन्दा बढी मात्रामा रुख कटान भएको जस्ता सूचना समेत पालिका प्रशासनमाा प्राप्त हुन आएकोले पालिका भित्र कुन–कुन व्यक्ति वा संस्थाले कति संख्यामा रुख कटानको अनुमति लिए भनेर त्यसको बिबरण माग गर्ने निर्णय लिएको हो । चालू आर्थिक बर्ष २०७७।०७८ को १ साउन देखि १५ बैशाख २०७८ सम्मको बिबरण माग गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार रुख कटानको अनुमति प्राप्त व्यक्ति वा संस्थाले गाउँपालिकाको आर्थिक ऐन २०७७ को अनुसूची ९ को क्रमसंख्या(८२)मा व्यवस्था भएबमोजिम सम्वन्धित वडा कार्यालयमा रुख कटान सिफारिस दस्तुर वापत प्रति रुख ३ सय रुपैंयाका दरले बुझाए÷नबुझाएको सम्वधमा गाउँ कार्यपालिकाको कार्यालय र सम्वन्धित वडा कार्यालयले रुजु भिडान समेत गरिने भएको छ । यसरी रुजु भिडान गर्दा डिभिजन वन कार्यालयबाट रुख कटान अनुमति लिएका व्यक्ति वा संस्थाले कटान अनुमतिमा उल्लेख गरिएको संख्या अनुसारको सिफारिस दस्तुर सम्वन्धित वडा कार्यालयमा बुझाएको नपाइएमा बाँकी सिफारिस दस्तुर १ महिना भित्र गाउँ कार्यपालिकाको कार्यालयमा बुझाउन अनुरोध गरिने भएको छ । यस्तो दस्तुर सरकारी बाँकी सरह राजश्वको रुपमा बुझाउन सम्वन्धित सेवाग्राहीलाइ अनुरोध गर्ने र यसकार्यमा स्थानीय प्रशासन समेतको सहयोग माग गर्ने निर्णय लिइएको पालिका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिनुभयो ।

गाउँपालिकाले अब उप्रान्त पालिकाका सबै वडा कार्यालयहरुले वडा भित्रको दिगो वातावरण संरक्षणलाइ मुख्य ध्यानमा राखेर मात्र वडा क्षेत्र भित्र प्रचलित कानुन बमोजिम रुख कटानको प्रारम्भिक सिफारिस गाउँ कार्यपालिकामा पठाउने र गाउँ कार्यपालिकाको कार्यालयले वडाबाट प्राप्त प्रारम्भिक सिफारिसमा उल्लेखित रुख कटानको अन्तिम अनुमति सम्वन्धित व्यक्ति÷संस्थालाइ उपलब्ध गराउने तथा डिभिजन वन कार्यालयले गाउँ कार्यपालिकाबाट प्राप्त सिफारिस बमोजिमबाट रुख कटानको अनुमति प्रदान गर्ने व्यवस्था मिलाउन डिभिजन वन कार्यालयलाइ लेखी पठाउने भएको छ । यस्तै डिभिजन वन कार्यालयले रुख कटानको अनुमति प्राप्त व्यक्ति÷संस्थाले अनुमतिमा उल्लेखित बमोजमको संख्या वा मापदण्ड भित्र रही रुख कटान गरे÷नगरेको स्थलगत अनुगमन सम्वन्धित वडा समिति तथा सम्वन्धित क्षेत्रमा टोल विकास संस्थामार्फत निरन्तर गर्ने÷गराउनुपर्ने भएको छ । अनुगमनका क्रममा अनुमति भन्दा बिपरित गरेको पाइएमा रुख कटानको अनुमति प्राप्त व्यक्ति÷संस्थालाइ दोब्बर जरिवाना गरी त्यस्तो व्यक्ति÷संस्थालाइ कालोसूचीमा राख्नका लागि सम्वन्धित व्यक्तिलाइ लेखी पठाउने र यस्तो गलत कार्यमा सघाउने वा प्रोत्साहित गर्ने पक्षलाइ समेत गाउँपालिकाले आर्थिक ऐनले दिएको अधिकार प्रयोग गरी कारवाहीको दाहेरामा लैजाने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts