चाँगे धर्ती आमा कोषद्वारा अग्निपीडितलाई राहत वितरण
–प्रयास लिम्बू
ताप्लेजुङ, बैशाख ११ । ताप्लेजुङस्थित चाँगे धर्ती आमा कोष चाँगेले दोभान बजारका अग्नि पीडितलाई राहत रकम वितरण गरेको छ । मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजारका अग्निपीडितलाई चाँगे धर्ती आमाकोषले राहत वितरण गरेको हो ।
कोषको अगुवाइमा हङकङ्, युके लगायतमा सङ्कलन भएको करिव साढे १४ लाख रुपियाँ रकम अग्नि पीडितलाई वितरण गरिएको हो । आगलागीबाट प्रभावित ५८ परिवारलाई कुल १४ लाख ३९ हजार ५६० रुपियाँ रकम राहतस्वरुप वितरण गरिएको चाँगे धर्ती आमा कोषकी अध्यक्ष विमला लिम्बूले जानकारी दिनुभयो । अध्यक्ष लिम्बूका अनुसार राहत रकम प्रतिपरिवार २४ हजार ८२० रुपियाँका दरले वितरण गरिएको छ ।
मेरिङ्देन गाउँपालिकाका अध्यक्ष गणेशबहादुर चोङ्बाङ, आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौला लगायतका पदाधिकारीहरुको उपस्थितिमा राहत रकम वितरण गरेको कोषले जनाएको छ । जिल्लाकै दोस्रो ठूलो दोभान बजारमा गत २०७७ फागुन १८ गते भएको आगलागीबाट ५० ओटा घर जलेर नष्ट भएका थिए । सो आगलागीबाट ४० करोड रुपियाँ बढीको क्षति भएको थियो भने ६३ परिवार विस्थापित भएका छन् ।