ताप्लेजुङमा १४ हजारले लगाए कोरोनाबिरुद्धको खोप

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख ३ ।
ताप्लेजुङमा करिव १४ हजार जनाले मात्र कोरोना बिरुद्धको खोप लगाएका छन् । जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार खोप लगाउन तीन चरणमा प्राथमिकता प्राप्त नागरिकमध्ये जिल्लामा कल १४ हजार १७१ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् । तीन चरणमा गरी १९ हजार ४५ जनाले खोप लगाउने अनुमान गरिएको थियो । स्वास्थ्य कार्यालयले लक्ष्य लिएको भन्दा २५ प्रतिशत कमले मात्र कोरोना खोप लगाएको तथ्याङ्कले देखाएको छ ।
यस हिसाबले लक्ष्यको तुलनामा ७४.४१ प्रतिशत मात्र प्रगति हासिल भएको जनस्वास्थ्य अधिकृत खरेलले जानकारी दिनुभयो । ५५ वर्ष र सो भन्दा माथिका १६ हजार ९० जनाले खोप लगाउने ठानिएकोमा १२ हजार ६३६ जनाले मात्र खोप लगाएका छन् । यो लक्ष्यको अनुपातमा ७८.५३ प्रतिशत मात्र प्रगति हो । ५५ वर्ष र सो भन्दा माथिका नागरिकमध्ये ६ हजार ६३० जना पुरुष र ६ हजार ६ जना महिलाले कोरोना खोप लगाएका छन् । पहिलो चरणमा १ हजार ४०५ जनाले खोप लगाउने ठानिएकोमा ३२१ पुरुष र ५४५ महिला गरी ८६६ जनाले मात्र कोरोना बिरुद्धको खोप लगाएका थिए । यो लक्ष्यको तुलनामा ६४.६४ प्रतिशत मात्र प्रगति थियो ।
यस्तै दोस्रो चरणमा १ हजार ५५० जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा ५ सय ११ पुरुष र १ सय ५८ महिला गरी ६६९ जनाले मात्र कोरोना बिरुद्धको खोप लगाएका थिए । यो लक्ष्यको तुलनामा आधा भन्दा कम अर्थात् ४३.१६ प्रतिशत मात्र रहेको थियो । खोपको तेस्रो चरणमा ५५ वर्ष र सो भन्दा माथिका मात्र १६ हजार बढीले खोप लगाउने अनुमान गरिएकोमा १३ हजार भन्दा कमले मात्र कोरोना बिरुद्धको खोप लगाएका छन् ।
तेस्रो चरणको खोपमा कुन स्थानीय तहमा कतिले लगाए खोप ?
ताप्लेजुङका ९ स्थानीय तहमध्ये तेस्रो चरणको खोप अभियानमा सबैभन्दा बढी सफलता सिदिङ्वा गाउँपालिकामा देखिएको छ । सिदिङ्वामा लक्ष्य गरेभन्दा बढीले खोप लगाएका छन् । त्यहाँ १ हजार ५८८ जनाले खोप लगाएका छन् । त्यो लक्ष्य भन्दा करिव ५ प्रतिशत बढी हो । यो हिसाबले त्यहाँ लक्ष्य सय प्रतिशत राखिएकोमा प्रगति करिव १ सय ५ प्रतिशत रहेको पाइएको छ ।
सबैभन्दा कम प्रगति मैवाखोलामा पाइएको छ । त्यहाँ लक्ष्यको तुलनामा ६१.२४ प्रतिशत अर्थात् १ हजार ३८८ जनाले खोप लगाएका छन् । पाथीभरा याङ्वरक गाउँपालिकामा पनि खोप लगाउने लक्ष्य करिव ६४ प्रतिशतमै सीमित भएको जनस्वास्थ्य अधिकृत खरेलले जानकारी दिनुभयो । पाथीभरा याङ्वरकमा १ हजार ७०५ जनाले खोप लगाएका छन् । मेरिङ्देन गाउँपालिकामा करिव ६७ प्रतिशतले मात्र खोप लगाएका छन् भने फुङ्लिङ नगरपालिमामा ७६ प्रतिशतले मात्र खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । सिरिजङ्घामा ८१ प्रतिशत, आठराई त्रिबेणीमा ८३ प्रतिशत, मिक्वाखोलामा ८५ प्रतिशत र फक्ताङ्लुङमा ९१ प्रतिशत हाराहारीले तेस्रो चरणको कोरोना बिरुद्धको खोप लगाएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts