|

पाथीभरा क्षेत्रको जंगलमा लागेको डढेलो मन्दिर नजिक पुग्यो,मन्दिर जोगाउने प्रयास जारी

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,पुस १३ । नियन्त्रण नजिक पुगेको डढेलो फेरी दन्किदा ताप्लेजुङमा अवस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरा मन्दिर जोखिममा परेको छ । अहिले मन्दिर नजिक रहेको सबैभन्दा पुरानो रुख जल्दै गरेको र मन्दिर जोगाउन मन्दिरमा टाँिगएका ध्वजापताका,डोरी लगायतका आगोले चाँडो टिप्ने सामग्री फाल्ने तयारी भइरहेको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका उपाध्यक्ष नारायण थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार डढेलो मन्दिर भन्दा केहि तल रहेको फोहोर व्यवस्थापन गर्ने केन्द्रबाट मन्दिरतर्फ अघि बढेको थियो । अहिले पाथीभरा मन्दिरमा रहेका पुजारी र कर्मचारीमार्फत मन्दिर क्षेत्र जोगाउने प्रयत्न भइरहेको थापाले जानकारी दिनुभयो । मन्दिर क्षेत्रको जंगलमा लागेको डढेलोको धुँवाको मुस्लो सदरमुकाम फुङ्लिङबाटै प्रत्यक्ष देख्न सकिन्छ । पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले मन्दिरको मुल थान र मन्दिर क्षेत्रमा बनेका घर तथा पाटी पौवा बचाउने गरी पहिलो प्रयत्न भइरहेको जानकारी दिनुभयो । आइतवार साँझ नियन्त्रण नजिक पुगेको डढेलो राति र सोमबार बिहानको हावाको बेगले अझ मन्दिरतर्फ बढेको बताइएको छ ।

जोखिम टरेको अनुमानमा आगो नियन्त्रणका क्रममा डढेलो लागेको क्षेत्रमा पुगेको पाथीभरा क्षेत्र विकास समिति र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिको टोली फेरी जोखिम बढेपछि पाथीभरा क्षेत्रतर्फ गएको छ । गत बिहीबारबाट फुङ्लिङ नगरपालिका वडा नं ११ को फावाखोला स्थित सिम्बु सामुदायिक वन क्षेत्रमा सुरु भएको डढेलो नियन्त्रण बाहिर गइ मन्दिर नजिकै पुगेको हो ।

फुङ्लिङ नगर उपप्रमुख बमबहादुर भट्टराईले डढेलो मन्दिरको पूर्वी क्षेत्रमा पुग्न लागेको जानकारी आएको र मानवीय प्रयासले नियन्त्रणको सम्भावना नरहेको जानकारी प्राप्त भएको बताउनुभयो । फोटोहरु ः सामाजिक सञ्जालबाट

अरुलाई पनि शेयर गरौ !

Similar Posts