रुसले सुरु ग¥यो कोभिडविरुद्ध खोप अभियान
(एजेन्सी)मस्को मंसिर २० । रुसले कोभिड–१९ विरुद्ध खोप अभियान सुरु गरेको छ । कोभिड–१९ का कारण उच्च जोखिममा रहेका मानिसलाई राजधानी मस्कोका क्लिनिकहरूमा खोप दिइन थालिएको हो । रुसमा निर्मित स्पुतनिक–५ खोप गत अगस्टमा दर्ता गरिएको हो । खोपको विकासमा संलग्न वैज्ञानिकहरूले उक्त खोप ९५ प्रतिशत प्रभावकारी रहेको तथा यसको प्रयोगबाट कुनै उल्लेख्य नकारात्मक प्रभाव नदेखिएको बताएका छन् । तर उक्त खोपको अझै सामूहिक परीक्षण भइरहेको छ । कोभिड–१९ बाट जोगिन उक्त खोप दुईपटक लगाउनुपर्छ । अधिकारीहरूका अनुसार पहिलो खोप लिएको तीन सातापछि दोस्रो खोप दिइन्छ । राजधानी मस्कोमा खोपको पहिलो डोज लिन हजारौं सर्वसाधारणले आफ्नो नाम दर्ता गराइसकेका जनाइएको छ । तर रुसको उत्पादन क्षमता के–कति छ भन्नेबारे केही उल्लेख गरिएको छैन । उत्पादकहरूले यो वर्षको अन्त्यसम्ममा खोपको २० लाख मात्रा मात्रै उत्पादन गर्न सक्ने अपेक्षा गरिएको छ । तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार आगामी ६ साताभित्र सम्पूर्ण नागरिकलाई खोपको पहिलो मात्र दिइसकिनेछ । नगर प्रमुख सर्गे सोब्यानिनका अनुसार मस्कोका विद्यालय, स्वास्थ्य क्षेत्र अनि सामाजिक कार्यमा संलग्न मानिसलाई खोप दिइँदै छ । खोपको थप मात्रा उपलब्ध हुँदै गर्दा खोप लिन इच्छुक मानिसको सूची पनि बढ्दै जाने उनले बताए । मस्कोमा मात्रै १ करोड ३० लाख जनसंख्या छ ।खोप लिन योग्य ठह¥याइएका १८ देखि ६० वर्षका मानिसले सहरका ७० स्थानमा रहेका क्लिनिकहरूमा निःशुल्क सुविधाका लागि अनलाइन सेवामार्फत नाम दर्ता गर्न पाउने व्यवस्था मिलाइएको छ । खोप लिने केन्द्रहरू स्थानीय समयानुसार बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म खुला रहनेछन् । पछिल्लो ३० दिनमा कुनै अन्य खोप लिएका वा श्वासप्रश्वासमा समस्या भएकाहरूलाई कोभिड–१९ विरुद्धको खोप नदिइने जनाइएको छ । त्यसैगरी, दीर्घरोगी, गर्भवती र स्तनपान गराइरहेका महिलालाई पनि खोप लगाइँदैन । रुसमा कोभिड–१९ संक्रमितको संख्या २४ लाखभन्दा बढी छ । भाइरसका कारण हालसम्म ४२ हजार २ सयभन्दा बढीले जनाले ज्यान गुमाइसकेका छन् । अधिकारीहरूका अनुसार शनिबार एकै दिन रुसमा २८ हजार ६ सय ८४ संक्रमित थपिएका छन् । राजधानी मस्कोमा शनिबार करिब ८ हजार संक्रमित थपिएका जनाइएको छ । पछिल्लो समय संक्रमण झन् थपिँदै गएसँगै अस्पतालहरू कोभिडका बिरामीले भरिएका छन् ।