चीनको वुहान पुग्यो डब्लूएचओ टोली

अरुलाई पनि शेयर गरौ !

वुहान,माघ २ । कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को टोली चीन पुगेको छ । चीन र डब्लूएचओको महिनौं लामो कुराकानीपछि उक्त टोली बिहीबार चीनको वुहान पुगेको हो । दस जना वैज्ञानिकहरूको टोलीले विभिन्न अनुसन्धान संस्था, अस्पताल र माछाबजारका मानिसहरूसँग अन्तर्वार्ता गर्ने जनाइएको छ । चीनको वुहानबाट सन् २०१९ को डिसेम्बरदेखि कोरोना भाइरसको महामारी फैलिएको हो । बीबीसीका अनुसार उक्त टोलीले दुई साताको क्वारेन्टाइन अवधि सकेपछि अनुसन्धान सुरु गर्नेछ । टोली प्रमुख पिटर बेन एम्बरेकले ‘वास्तवमा के भएको थियो भन्नेबारे थाहा पाउनका लागि यो निकै लामो यात्रा तय गर्नुपर्ने’ बताए । उनले सुरुवाती चरणमै सबै कुरा थाहा हुन सम्भव नभएको जनाएका छन् । डब्लूएचओले कोरोना भाइरसको संक्रमण कसरी फैलियो भन्नेबारे चीनमा अनुसन्धान गर्ने इच्छा देखाएको थियो । सुरुमा चीनले डब्लूएचओका अनुसन्धानकर्तालाई प्रवेश दिए पनि अनुसन्धान गर्न नदिने अडान राख्दै आएको थियो । चीनले शनिबार ती अनुसन्धानकर्तालाई अनुमति दिने जनाएको थियो । चीनको वुहान सहरबाट कोरोना संक्रमण फैलिएकाले अनुसन्धान गर्न चाहेको डब्लूएचओले बताउँदै आएको थियो । चीनको नेसनल हेल्थ कमिसनका निर्देशक चेन इसिनले शनिबार ‘विश्व स्वास्थ्य संगठनका अनुसन्धान अधिकारीलाई अनुसन्धानका लागि अनुमति दिएको’ बताएका थिए । उनले ती अधिकारीले चीनमा कोभिड–१९ को उत्पत्तिबारे गर्ने अनुसन्धानमा पूर्ण रूपमा सघाउन चीन तयार रहेको दोहो¥याएका थिए । ‘विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताले यस अनुसन्धानका विषयमा उनीहरूको कार्यक्रम र कार्यसूची के कस्तो छ भन्नेबारे हामीलाई जानकारी दिएपछि उनीहरूसँगै हाम्रा अनुसन्धान अधिकारी पनि वुहान जान तयार छन्,’ उनको भनाइ थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts