चुनाव नजिकिँदै गर्दा ट्रम्प आक्रामक

अरुलाई पनि शेयर गरौ !

वासिङ्टन,कात्तिक ५ । चुनाव नजिकिँदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो आलोचना गर्नेहरूसँग निकै आक्रामक देखिएका छन् । अमेरिकी उच्च ओहोदामा रहेका र अति सम्मान गरिने जनस्वास्थ्यविज्ञ डा. एन्थोनी फाउचीप्रति उनले सोमबार आक्रोश व्यक्त गरेका अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । चुनावी अभियानका क्रममा देशको पश्चिमी क्षेत्रको भ्रमणमा पुगेका ट्रम्पले तेस्रो दिन सबैभन्दा नराम्रो दबाब भोगेका छन् । चुनावी अभियानका क्रममा ट्रम्पले फाउचीलगायतका विज्ञहरूमाथि विवादास्पद अभिव्यक्ति दिएका छन् । फाउचीलाई ट्रम्पले टेलिभिजनमा जाँदै बोलिरहने, देश र जनतालाई भाँड्ने तथा सरकारलाई असहयोग गर्ने पात्रका रूपमा चित्रित गरेका छन् । ‘फाउची र उनीहरू जस्तै अरू धेरैका कुरा सुन्दा–सुन्दा जनता आजित भइसकेका छन्, उनीहरू आफैंमा प्रकोप हुन्, उनीहरूका कारण नै यहाँको अवस्था बिग्रिएको हो,’ ट्रम्पले भने । त्यसैगरी कोरोना भाइरसबारे उनले दिएको अभिव्यक्तिको पनि आलोचना भइरहेको छ । ‘म डराएको, आत्तिएको छैन,’ टक्सन, एरिजोनालगायत क्षेत्रमा जानुअघि पत्रकारहरूसँग उनले भने, ‘मलाई लाग्छ म आक्रामक रूपमा दौडिरहेको छु, म धेरै खुसी पनि छु, मैले राम्रो गरिरहेको छु र म सन्तोषजनक अवस्थामा छु ।’ चुनाव जित्ने विश्वास र आधार देखेको दाबी गर्दै ट्रम्पले आफू विजयी हुने देखेर केही समूह आत्तिएको टिप्पणी गरे । उनले यसअघि सन् २०१६ मा चुनाव लडेको समयमा भन्दा अहिले सहज महसुस गरिरहेको दाबी गरे ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts