साँवाको तेम्बामा सुरु भयो तेस्रो फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेला,मेला ६ गते सकिने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २ । कोशी प्रदेश सरकारका पर्यटन,वन तथा वातावरण मन्त्री खिनु लङ्वाले ताप्लेजुङ पर्यटन प्रर्वद्धनको बलियो सम्भावना रहेको क्षेत्रको रुपमा रहेको बताउँदै यसको विकास र प्रर्वद्धनका लागि वृहत्तर गुरुयोजनाको खाँचो औंल्याउनु भएको छ ।

मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवास्थित तेम्बामा मंसिर २ गतेबाट सुरु फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेला २०८३ को उद्घाटन गर्दै मन्त्री लङ्वाले ताप्लेजुङका पर्यटन क्षेत्रको विकास र प्रर्वद्धन साझा प्रयास र सहकार्य जरुरी रहेको समेत बताउनुभयो । मन्त्री लङ्वाले पर्यटन प्रर्वद्धन क्षेत्रको विकास र बिस्तारका लागि कोशी सरकारको ध्यान गइरहेको र सधैं यस्तै प्रयास भइरहने समेत बताउनुभयो । कार्यक्रममा कोशी सरकारका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य खगेनसिं हाङगामले फङ्फङ्देन क्षेत्र ताप्लेजुङ र मिक्वाखोलाको मात्र अस्थित्वको केन्द्र नभई देशकै समृद्धिको सम्पत्तिको रुपमा स्थापित हुँदै गएको बताउनुभयो । हाङगामले मिक्वाखोला र समग्र ताप्लेजुङको उद्योग,कृषि र सहकारी क्षेत्रको विकास र प्रर्वद्धनका लागि आफुले उक्त मन्त्रालयको जिम्मेवारी लिँदा बिशेष ध्यान दिएर बजेट व्यवस्थापनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

कार्यक्रममा मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की,उपाध्यक्ष डण्डु लामा शेर्पा,मेरिङदेन गाउँपालिका उपाध्यक्ष दुर्गाहाङ श्रेङचोङवाङ,मिक्वाखोला गाउँपालिकाका वडाध्यक्षहरुकोतर्फबाट वडा नं ५ का वडाध्यक्ष ग्याञ्जे शेर्पा,पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य सहितले कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो भने उपस्थित अतिथिलाई स्वागत सहित फङ्फङदेन झरना पर्यटन विकास समितिका सल्लाहकार नुपु शेर्पाले मेलाको औचित्य र उद्देश्य बताउनु भएको थियो । मंसिर २ गते देखि सुरु भएको फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेला ६ गते सकिने आयोजक फङ्फङदेन झरना पर्यटन विकास समितिका अध्यक्ष विजय साँवाले जानकारी दिनुभयो ।

Similar Posts