ताप्लेजुङको ओलाङचुङगोलामा मात्र मनाइने फुर्डुप पर्व सोमवार सकिने,शनिवार र आइतवार बिशेष कार्यक्रम
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २१ । पूर्वी नेपालको ताप्लेजुङ जिल्लास्थित ओलाङचुङगोलामा मात्र मनाइने फुर्डुप पर्व सोमवार सकिने भएको छ ।
१० दिनसम्म मनाइने फुर्डुप पर्वको मुख्य दिन आइतवार बिशेष कार्यक्रम हुने भएको छ । फक्ताङलुङ गाउँपालिका वडा नं ७ का वडाध्यक्ष छेतेन वालुङ शेर्पाका अनुसार पर्वको मुख्य दिन भनेको आठौं र नवौं दिन हो । फुर्डुप पर्व सुरु भएको शनिवार आठौं दिन भएको छ । फुर्डुप पर्वका बेला ध्यान गर्ने,पूजा गर्ने,तोर्मा जलाउने र एकआपासमा शुभकामना आदान–प्रदान तथा देव नृत्य प्रर्दशन गर्ने गरिन्छ । यो पर्व वालुङ समुदायको मौलिक साँस्कृतिक पर्व हो । वडाध्यक्ष शेर्पाका अनुसार फुर्डुप पर्व तिब्बतीयन पात्रो अनुसार ९ औं महिनाको २० औं गतेबाट सुरु हुन्छ । फुर्डुप पर्वको पछिल्लो चार दिनलाई विशेष दिनका रुपमा लिने गरिन्छ । प्रत्येक रात देवनृत्य (देवता नाच) प्रदर्शनसहित पर्वको समापन गरिने स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार पर्वमा सहभागी लामाले देवता र राक्षसको मुखुन्डो लगाएर देवता तथा राक्षसबिचको युद्धको अभिनय गरी नृत्य देखाउन चलन रहेको छ । देवता र राक्षसको युद्ध अभिनयमार्फत सत्य विजय र असत्यको पराजय हुने प्रस्तुति देखाउने गरिन्छ । पर्वका अवसरमा लामाको नृत्य अवलोकन र देवाशिर्वाद ग्रहण गर्नका लागि भक्तजनहरु ओलाङचुङगोलामा भेला हुने गरेका छन् । फक्ताङलुङ गाउँपालिकाको वडा नं ७ ओलाङचुङगोलमा करिव ६ सय बर्ष पुरानो मानिएको दिकिछ्योलिङ गुम्बा रहेको छ । भक्तजनहरु देवाशिर्वाद प्राप्त हुने विश्वासमा गुम्बा नजिक पाल र टेन्ट टाँगेर समेत बस्ने गरेका छन् । फुर्डुप पर्वका बेला दिकिछ्योलिङ गुम्बालाई बिशेष रुपले सजिसजावट समेत गर्ने गरिन्छ । फुर्डुप पर्वका अवसरमा आगोको ज्वाला गुम्बाको धुरी कटाउँने प्रचलन समेत रहेको छ । दिकीछ्योलिङ गुम्बालाई ऐतिहाँसिक महत्व बोकेको सभ्यता र संस्कृति चिनाउने अनुपम केन्द्रको रुपमा लिने गरिन्छ ।